

काठमाडाैं : गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडाैं महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।
‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आउँदा दिनका लागि थप सचेत रहन आग्रह गरिएको महानगरको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा रहेको र हरेक वडामा नियमित रूपमा सरसफाइको काम भइरहेको उनको भनाइ छ ।
डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताइन् । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उनको भनाइ छ ।
स्वास्थ्य विभागकी निमित्त प्रमुख महर्जनका अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको ठाउँमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् । आवश्यक परे महानगरले डेङ्गी नियन्त्रण गर्न ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ ।


