

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकका माग र उनीहरूमाथि कलेज प्रशासनले गरेको कारबाहीबारे प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र (बालेन) शाहको ध्यानाकर्षण गराएको छ।
सङ्घका अनुसार नेशनल मेडिकल कलेजमा एमडी/एमएस प्रथम वर्षका आवासीय चिकित्सकहरू गत भदौ ३१ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत छन्। कलेज प्रशासनले प्रथम वर्षका चिकित्सकमाथि अनावश्यक मुद्दा लगाएको, सार्वजनिक बिदाका दिनमा समेत बिदा नदिएको, सरकारी आठौँ तहसरह पाउनुपर्ने निर्वाह भत्ता उपलब्ध नगराएको तथा विनाकारण गयल गरी मानसिक दबाब दिने र कारबाही गर्ने गरेको सङ्घको दाबी छ।
सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित पत्रमा अहोरात्र स्वास्थ्य सेवामा खटिने आवासीय चिकित्सकमाथि प्रचलित कानुन र श्रम ऐनविपरीत मानसिक तनाव तथा दबाब सिर्जना गरिएको उल्लेख छ। चिकित्सकका मागका विषयमा कलेज व्यवस्थापनसँग पटक–पटक छलफल भए पनि सुनुवाइ नभएको सङ्घले जनाएको छ।
आवासीय चिकित्सकहरूले आठौँ तहसरहको निर्वाह भत्ता, बिदा, हाजिरी तथा ड्युटी व्यवस्थापनलगायतका विषयमा माग राख्दै आएका छन्। यसअघि नेपाल चिकित्सक सङ्घले पनि कलेज प्रशासनलाई माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभए थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो।
कलेज प्रशासनले भने आवासीय चिकित्सकलाई काममा फर्काउन संवाद तथा समस्या समाधानको प्रयास गरिएको दाबी गरेको छ। पछिल्लो समय कलेजले प्रथम वर्षका आवासीय चिकित्सकको शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गर्दै उनीहरूलाई छात्रावास तथा क्वार्टर खाली गर्न निर्देशनसमेत दिएको समाचार सार्वजनिक भएको छ।
सङ्घले चिकित्सकका जायज माग तत्काल सम्बोधन गरी भयरहित वातावरणमा अध्ययन तथा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शाहसमक्ष अनुरोध गरेको छ। माग सम्बोधन नभए चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया अघि बढाउनसमेत सङ्घले आग्रह गरेको छ।




