

काठमाडौं । ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने सन्देशसहित आज विश्व रेबिज दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस रेबिजको रोकथाम तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाउने गरिन्छ ।
सेप्टेम्बर २८ लुइ पास्चरको स्मृति दिवस पनि हो । रेबिजविरुद्धको पहिलो सफल खोप विकासमा पास्चरको महत्वपूर्ण योगदान रहेको थियो ।
रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो । विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । त्यसमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसिया र ३२ दशमलव ५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको छ । रेबिजका कारण मृत्यु हुनेमध्ये करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् । मानवमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन् ।
नेपालमा पनि रेबिज महत्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा देशभर २ लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना रिपोर्ट भएका छन् । तीमध्ये करिब ९६ प्रतिशत घटना कुकुरको टोकाइका छन् । नेपालमा मानव रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरको टोकाइसँग सम्बन्धित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ । करिब ५० प्रतिशत जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने अवस्था रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर २८६ वटा सेवा केन्द्रबाट रेबिजविरुद्धको खोप उपलब्ध गराइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा तत्काल घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन आग्रह गरेको छ । घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ लगाउन नहुने र त्यसपछि तत्काल स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा खोप सुरु गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
जनावरको टोकाइपछि रेबिजका लक्षण देखिन कुर्न नहुने मन्त्रालयले जनाएको छ । रेबिजको लक्षण देखिएपछि मृत्यु हुने सम्भावना शतप्रतिशत हुने भएकाले समयमै उपचार लिनु नै मृत्यु रोक्ने प्रमुख उपाय रहेको मन्त्रालयको भनाइ छ ।
मानवमा हुने रेबिजको ठूलो हिस्सा कुकुरबाट सर्ने भएकाले घरपालुवा कुकुर तथा बिरालोलाई नियमित रेबिजविरुद्धको खोप लगाउन, जिम्मेवार पशुपालन गर्न र कुकुरको जनसंख्या व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ ।
नेपालले मानव, पशु, वन्यजन्तु, वातावरण, स्थानीय तह र समुदायबीचको समन्वयमा ‘एक स्वास्थ्य’ अवधारणाअनुसार रेबिज नियन्त्रणका कार्यक्रम अघि बढाइरहेको छ । नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ ।
यसका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढीकरण, कुकुरको सामूहिक खोप, कुकुरको जनसंख्या व्यवस्थापन, उपचारमा पहुँच विस्तार र समुदायमा जनचेतना अभिवृद्धिलगायतका कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।



