

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्नातकोत्तर तह (पीजी) को अध्ययन–अध्यापन दुई सातादेखि रोकिएको छ । आवासीय चिकित्सक र कलेज सञ्चालकबीच सहमति हुन नसक्दा १३ दिनदेखि पीजीको पढाइ प्रभावित भएको हो ।
दैनिक ३६ घण्टासम्म ड्युटी लगाउने, अनावश्यक रूपमा हाजिरी काट्ने र विभिन्न बहानामा कारबाही गर्ने गरेको भन्दै पीजी पहिलो वर्षका ५५ जना आवासीय चिकित्सक भदौ ३१ गतेदेखि आन्दोलनमा छन् ।
आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि कलेजले स्नातकोत्तर तह प्रथम वर्षको अध्ययन–अध्यापन तथा अन्य शैक्षिक गतिविधि स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म प्रथम वर्षका आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटी र अन्य प्रशिक्षण गतिविधि सञ्चालन नहुने कलेजले जनाएको छ ।
आन्दोलनका कारण कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको भन्दै मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)लाई पत्र लेखेर विद्यार्थी फिर्ता बोलाउन आग्रह गरेको छ । शैक्षिक अनुशासन, संस्थागत विश्वास र स्वास्थ्य सेवा प्रभावित हुन नदिन विद्यार्थी फिर्ता बोलाउन आग्रह गरिएको कलेजको भनाइ छ ।
कलेजले यसअघि आवासीय चिकित्सकलाई होस्टल छाड्नसमेत निर्देशन दिएको थियो । त्यसको चौतर्फी विरोध भएपछि भने उक्त निर्णयबाट कलेज पछि हटेको थियो ।
हाल स्नातकोत्तर तह पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सकको अध्ययन–अध्यापन प्रभावित भएको छ । आवासीय चिकित्सकले आफूहरूमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने, ड्युटी समय व्यवस्थित गर्नुपर्ने, अनावश्यक रूपमा हाजिरी काट्न नपाइने र तोकिएको निर्वाह भत्ता समयमै उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।
माग सम्बोधन गर्न भन्दै तीनै तहका आवासीय चिकित्सकले भदौ २९ गते कलेजका प्रिन्सिपलको कार्यालयमा पत्र बुझाएका थिए । माग पूरा गर्न दुई दिनको अल्टिमेटम दिइए पनि सुनुवाइ नभएपछि भदौ ३१ गतेदेखि अस्पतालमा धर्ना सुरु गरेको आन्दोलनरत एक आवासीय चिकित्सकले बताएका छन् ।
उनका अनुसार असोज ३ गते कलेजले वार्तामा बोलाए पनि माग सम्बोधन गर्ने विषयमा ठोस पहल भएन । आन्दोलनका कारण आफूहरूको अध्ययन–अध्यापन लामो समयदेखि रोकिँदा समस्या भएको आवासीय चिकित्सकहरूले बताएका छन् ।



