

काठमाडौँ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्तिका लागि रोस्टरमा सूचीकृत गर्ने उद्देश्यले अघि बढाइएको प्रक्रियामा पछिल्लो समय देखिएका गतिविधिप्रति नेपाल फार्मेसी संघले गम्भीर आपत्ति जनाएको छ।
नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ५(१)(ङ) बमोजिम सदस्य नियुक्तिका लागि आवेदन प्रक्रिया अघि बढाइएकोमा २०८३ भदौ १७ गते अन्तिम नामावली प्रकाशन गरिएको थियो। त्यसको भोलिपल्ट अर्थात् भदौ १८ गते अन्तर्वार्तासमेत सम्पन्न भइसकेको अवस्थामा त्यसको नतिजा सार्वजनिक नगरी २१ दिनपछि २०८३ असोज ८ गते पुनः केही नयाँ संस्था तथा व्यक्तिलाई समावेश गरी अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरिएको भन्दै संघले आपत्ति जनाएको हो।
संघले ‘भुलवश छुटेको’ भन्ने आधारमा लामो समयपछि नयाँ नाम समावेश गरिनुको कारण र त्यसका लागि अपनाइएको कानुनी आधारबारे मन्त्रालयले स्पष्ट पार्नुपर्ने माग गरेको छ। अन्तर्वार्ता सम्पन्न भइसकेपछि पुनः नयाँ व्यक्तिलाई प्रक्रियामा समावेश गर्नुले छनोट प्रक्रियाको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाएको संघको भनाइ छ।
यसै सन्दर्भमा नेपाल फार्मेसी परिषद्का अध्यक्ष डा. कादिर आलमको विगतको परिषद् सदस्य नियुक्तिसँग सम्बन्धित विषयमा समेत संघले ध्यानाकर्षण गराएको छ। मुस्लिम फार्मासिस्ट एसोसिएसन अफ नेपाल २०८२ जेठ २२ गते दर्ता भएको र त्यसको एक साताभित्रै २०८२ जेठ ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट डा. आलम परिषद्को सदस्यमा नियुक्त भएको विषयमा प्रश्न उठेकाले निष्पक्ष अध्ययन तथा आवश्यक छानबिन हुनुपर्ने संघको धारणा छ।
हाल नाम छुटेको भनिएका व्यक्तिमध्ये एकजना डा. आलम आबद्ध मुस्लिम फार्मासिस्ट एसोसिएसन नेपालका उपाध्यक्ष रहेको भन्दै संघले नियुक्ति प्रक्रियाको निष्पक्षता र सम्भावित स्वार्थको द्वन्द्वबारे समेत प्रश्न उठाएको छ। उक्त संस्थाका गतिविधि, संस्थागत संरचना तथा नियमित क्रियाशीलताबारे सार्वजनिक रूपमा पर्याप्त जानकारी नदेखिएको भन्दै संघले यस विषयमा छानबिन आवश्यक रहेको जनाएको छ।
परिषद् सदस्य नियुक्ति प्रक्रियाकै प्रयोजनका लागि उल्लिखित संस्थाहरू गठन वा दर्ता गरिएका हुन् कि होइनन् भन्ने प्रश्नसमेत उठेको संघको भनाइ छ। विगतमा सत्ता, पहुँच वा प्रभावका आधारमा नियुक्ति हुने गरेको प्रवृत्तिलाई ध्यानमा राख्दै मन्त्रालयको निर्णय प्रक्रिया पारदर्शी, निष्पक्ष र विधिसम्मत हुनुपर्नेमा संघले जोड दिएको छ।
नेपाल फार्मेसी संघले आफू देशभरका फार्मासिस्ट तथा फार्मेसी पेशाकर्मीलाई समेट्ने ठूलो पेशागत संस्था भएको उल्लेख गर्दै आफूलाई पाखा लगाएर सीमित तथा नयाँ संस्थालाई अस्वाभाविक रूपमा अघि सार्ने कुनै पनि गतिविधिको विरोध गरेको छ।
तर, संघले परिषद् सदस्यमा आफ्नै प्रतिनिधि नियुक्त गर्नुपर्ने माग भने नरहेको स्पष्ट पारेको छ। योग्यता, अनुभव, पेशागत योगदान, संस्थागत क्रियाशीलता र व्यक्तिको क्षमताका आधारमा पारदर्शी, निष्पक्ष तथा विधिसम्मत ढंगले सदस्य छनोट गर्नुपर्ने संघको माग छ।




