

काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको मधुमेहको औषधि ‘ग्लिपिड–१’ गुणस्तरहीन नभएको दाबी गर्दै उत्पादक टाइम फार्मास्युटिकल्स लिमिटेडले विभागको निर्णय पुनर्विचार गर्न माग गरेको छ।
विभागले असोज १ गते टाइम फार्मास्युटिकल्सद्वारा उत्पादित ब्याच नम्बर जीएम–०७० को ‘ग्लिपिड–१’ तोकिएको घुलन (डिसोलुसन) परीक्षणमा मापदण्डअनुसार नदेखिएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो।
तर कम्पनीले असोज ४ गते विभागलाई पत्र पठाउँदै आफ्नै प्रयोगशालामा रहेको ‘कन्ट्रोल नमुना’ परीक्षण गर्दा औषधिको गुणस्तर ठीक रहेको दाबी गरेको हो। विभाग स्रोतबाट प्रप्त भएको पत्रअनुसार कम्पनीले विभागमा यसअघि नै बुझाइएको उत्पादन मापदण्डअनुसार परीक्षण गर्दा समेत उक्त औषधि ‘डिसोलुसन फेल’ भएको नदेखिएको जनाएको छ।
टाइमले औषधिको गुणस्तरमा उत्पादनकै कारण समस्या नभएको दाबी गर्दै बजारमा औषधि भण्डारण गर्ने तरिकामाथि समेत प्रश्न उठाएको छ। नेपालका थोक तथा खुद्रा औषधि विक्रेता, अस्पताल र स्वास्थ्य संस्थाका औषधि भण्डारण कक्षहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित नभएको कम्पनीको भनाइ छ।
भण्डारणको उचित व्यवस्था नहुँदा औषधिको गुणस्तरमा असर पर्न सक्ने भन्दै कम्पनीले सम्बन्धित निकायले औषधि भण्डारणका लागि आवश्यक मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।
कम्पनीले औषधि बजारबाट फिर्ता गर्ने निर्णय गर्नुअघि सम्बन्धित उत्पादकलाई आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने मागसमेत गरेको छ। सार्वजनिक सूचना जारी गर्नुअघि कम्पनीसँग स्पष्टीकरण लिनुपर्ने व्यवस्था गर्न पनि टाइमले विभागलाई आग्रह गरेको छ।
आफ्नो दाबी पुष्टि गर्न कम्पनीले ग्लिपिड–१ को ‘डिसोलुसन टेस्ट पास’ भएको अनुसन्धान प्रतिवेदनसमेत विभागमा बुझाएको जनाएको छ। उक्त प्रतिवेदनका आधारमा असोज १ गते गरिएको औषधि फिर्ता गर्ने निर्णय बदर गर्न टाइमले आग्रह गरेको छ।
यससँगै ग्लिपिड–१ को गुणस्तरबारे औषधि व्यवस्था विभागको परीक्षण र उत्पादक कम्पनीको आफ्नै परीक्षणको नतिजा फरक देखिएको छ।
यसरी औषधि व्यवस्था विभागको निर्णयलाई चुनौती दिएर ‘रिकल’को निर्णय फिर्ता लिन आग्रह गरेको यो पहिलो घटना हो । साथै औषधि व्यवस्था विभागले भदौ १६ गते जारी गरेको सूचनाअनुसार टाइम फार्मास्युटिकल्सद्वारा नै उत्पादित वाकवाकी र बान्ताको औषधि ‘भोमिसेट सिरप’ फिर्ता गर्न निर्देशन दिएको बारेमा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन । यसबाट उक्त औषधि गुणस्तरहिन नै रहेको भन्दै कम्पनीले स्वीकार गरेको प्रष्ट हुन्छ।



