

बागलुङ । डेंगुको केन्द्र बनेको बागलुङ बजार क्षेत्रमा संक्रमणको कारण, जोखिमका कारक तथा फैलिरहेको डेंगुको भेरियन्ट पहिचान गर्न विशेषज्ञ टोलीले ‘भेक्टर सर्भे तथा केस–कन्ट्रोल’ सर्वेक्षण सुरु गरेको छ।
स्वास्थ्य सेवा विभागका डा. गोकर्ण दाहाल, फिल्ड इपिडिमियोलोजिस्ट कौशल सुवेदी र विश्व स्वास्थ्य संगठनका इन्टोमोलोजिस्ट शिशिर पन्त सहभागी टोलीले बागलुङ नगर क्षेत्रका १५० घरधुरीमा डेंगु सार्ने एडिस जातको लामखुट्टेको अवस्था अध्ययन गरिरहेको छ।
सर्वेक्षणमा प्रदेश जनस्वास्थ्य कार्यालय, धौलागिरि प्रादेशिक अस्पताल, बागलुङ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा फेयरमेड फाउन्डेसनले सहजीकरण गरिरहेका छन्।
टोलीले डेंगु संक्रमित र संक्रमित नभएका व्यक्तिबीच जोखिमका कारक तुलना गर्न ‘केस–कन्ट्रोल’ अध्ययनसमेत गरिरहेको छ। धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको नमुना थप परीक्षण गरी डेंगुको भेरियन्ट पहिचान गर्ने काम भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताए।
बजार क्षेत्रका वडा नं. १, २ र ३ मा गरिएको प्रारम्भिक सर्वेक्षणका क्रममा ७७ घरधुरीमध्ये ३६ घरमा डेंगु सार्ने लामखुट्टेको लार्भा फेला परेको छ। जाँच गरिएका २९५ वटा पानीका भाँडा तथा कन्टेनरमध्ये २१ प्रतिशतमा लामखुट्टेको लार्भा भेटिएको जनस्वास्थ्य कार्यालयकी मलेरिया इन्स्पेक्टर कमला थापाले जानकारी दिइन्।
अध्ययनका क्रममा घर तथा घरवरपर रहेका पानी जम्ने भाँडा, ट्याङ्की, गमला, टायरलगायतका स्थान डेंगु सार्ने लामखुट्टेको प्रजननका मुख्य स्रोत बन्न सक्ने देखिएको छ। पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने तथा प्रयोगमा नरहेका भाँडा र कन्टेनर खाली राख्न नागरिकलाई सचेत गराइएको थापाले बताइन्।
बागलुङ बजारमा घरघरै डेंगुका बिरामी भेटिन थालेपछि स्थानीय तह र प्रदेश जनस्वास्थ्य कार्यालयले सचेतनामूलक कार्यक्रमसँगै लामखुट्टेको बासस्थान खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन्। लामखुट्टेको लार्भा बन्न नदिन नियमित सरसफाइमा ध्यान दिन नागरिकलाई आग्रह गरिएको छ।
घरवरपर सरसफाइमा बेवास्ता हुँदा संक्रमण बढेपछि स्वास्थ्यकर्मी आफैँ बजार क्षेत्रमा परिचालन भएर लामखुट्टेको बासस्थान खोजी, नष्ट गर्ने तथा लार्भा परीक्षणका लागि पठाउने काममा जुटेका छन्।
बजारभित्रका बस्तीमा संक्रमितको संख्या बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालयले खोजी अभियानलाई तीव्रता दिएको छ। सोमबार पनि स्वास्थ्यकर्मी बागलुङ नगरपालिका–४ को उपल्लाचौर क्षेत्रका बस्तीमा डेंगु संक्रमितको खोजीका लागि पुगेका थिए।
असारयता बागलुङमा डेंगु संक्रमितको संख्या १ हजार ५८९ पुगेको छ। तीमध्ये १ हजार ३७८ जनाको धौलागिरि प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। अन्य संक्रमितको ग्रामीण क्षेत्रका अस्पताल तथा स्वास्थ्य चौकीमा उपचार गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शर्माका अनुसार उक्त तथ्यांक अस्पतालमा पुगेर रगत परीक्षणमार्फत संक्रमण पुष्टि भएकाहरूको मात्रै हो। घरमै उपचार गराएर बसेका संक्रमितको संख्या यसमा समावेश छैन।
उनका अनुसार डेंगु संक्रमणपछि अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्ने, वाकवाकी हुने तथा बेहोस हुनेजस्ता समस्या भएका बिरामी अस्पतालमा आउने गरेका छन्। पछिल्लो समय बालबालिकामा पनि डेंगु संक्रमण बढी देखिएको छ भने उनीहरूलाई अस्पतालमा केही दिन भर्ना गरेर उपचार गराउने गरिएको छ।
संक्रमण दर बिस्तारै घट्दो क्रममा रहे पनि जोखिम भने कायमै रहेको शर्माले बताए।
जनस्वास्थ्य कार्यालयका अनुसार बागलुङ नगरपालिकामा १ हजार ४८, जैमिनीमा ८८, गलकोटमा ८३, ढोरपाटनमा ५७, काठेखोला गाउँपालिकामा १२४, ताराखोलामा १०, बडिगाडमा २३, निसीखोलामा २५, तमानखोलामा ८, बरेङमा ५ तथा अन्य जिल्लाका ११८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।



