

लमजुङ । क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पतालको काम सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत मात्रै पूरा भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७८ साउन १९ गते सम्झौता भएको अस्पतालको काम विसं २०८१ असारदेखि रोकिएको छ।
निर्माणको काम रोकिए पनि पटकपटक म्याद थपिँदै आएको गाउँपालिकाले जनाएको छ। पछिल्लो पटक गत भदौमा तीन महिनाका लागि निर्माणको म्याद थप गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीले काम अघि बढाउने भन्दै पटकपटक म्याद थप्दै गए पनि अपेक्षित प्रगति हुन सकेको छैन। निर्माणको काम क्रमशः रोकिँदै आएको र व्यवसायीलाई काम अघि बढाउन पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रगति हुन नसकेको उनले बताए। उनका अनुसार हालसम्म करिब एक करोड ८३ लाख रुपैयाँ बराबरको काम भएको छ।
गाउँपालिकाका सबइन्जिनियर प्रकाश शेरचनका अनुसार अस्पताल भवनको भुइँतला ढलानको काम सम्पन्न भएको छ। त्यसपछि निर्माण रोकिएको हो। निर्माण सम्झौताको दुई वर्षसम्म पनि कामले गति लिन नसकेको र त्यस अवधिमा करिब पाँच–छ प्रतिशत मात्रै प्रगति भएको उनले बताए।
सुरुमा जग खन्ने, जमिन सम्याउनेलगायतका काम गरिएको थियो। पटकपटक म्याद थप्दा पनि निर्माणले गति लिन नसकेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको शेरचनले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले निर्माण व्यवसायीको ढिलाइका कारण अस्पताल निर्माणले अपेक्षित गति लिन नसकेको बताए। पछिल्लो पटक तीन महिनाका लागि म्याद थपिएकाले उक्त अवधिमा काम अघि बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ।
“अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ,” उनले भने।
अस्पताल निर्माणका लागि गाउँपालिकाले करिब २० करोड रुपैयाँ लागत अनुमान गरेको थियो। निर्माण व्यवसायीसँग भने १३ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो।
सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण भइरहेको अस्पतालको विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो। अस्पताल निर्माण सम्पन्न भएपछि क्व्होलासोथार गाउँपालिकाका स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ।



