

जनकपुरधाम । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा चर्चित टिकटकर सुधिरा मुखियासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–८ का २६ वर्षीय सुधिरा मुखिया बिन र औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार बर्थिङका लागि अस्पताल पुगेकी एक महिलाका आफन्तले ड्युटीमा रहेका चिकित्सक डा. सरोज साहमाथि हातपात गरेको सूचना पाएपछि प्रहरी टोली अस्पताल पुगेको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुधिरा र विजयलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाइएको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।
प्रहरीका अनुसार सुधिरा सामाजिक सञ्जालमा सक्रिय टिकटकर हुन्। उनले जनकपुरधामको बजरंग चोकमा होटलसमेत सञ्चालन गर्दै आएकी छन्।
दुवै जनामाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा ३(ग) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उक्त कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गर्ने काम भइरहेको र उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



