

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बाहुनीकी मेनुका बिकले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै छोरीलाई जन्म दिएकी छिन् । आइतबार बिहान घरमै प्रसव व्यथा सुरु भएपछि साप्पाटा स्वास्थ्य संस्था बर्खु जाने क्रममा स्वास्थ्य संस्था पुग्नुअघि नै उहाँले बाटोमा छोरी जन्माएकी हुन् ।
मेनुका घरबाट स्वास्थ्य संस्था पुग्न करिब दुई घण्टा लाग्ने भएकाले प्रसव व्यथा सुरु भएपछि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै सुत्केरी हुनुभएको हो। भौगोलिक रूपमा विकट क्षेत्र र स्वास्थ्य संस्थासम्म पुग्न लाग्ने लामो समयका कारण स्वामिकार्तिक खापरका गर्भवती महिलाले यस्तो समस्या भोग्दै आएका छन्।
मेनुका बाटोमै सुत्केरी भए पनि आमा र नवजात शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको साप्पाटा स्वास्थ्य चौकीकी अनमी रेखा कटेलले जानकारी दिए । उनका अनुसार दुवैलाई स्वास्थ्य संस्थामा ल्याएर राखिएको छ।
‘अहिले उहाँ र उहाँले जन्म दिनुभएको शिशुको अवस्था सामान्य छ । अहिले नलाई स्वास्थ्य संस्थामा ल्याएर राखेका छौँ । टाढाको बाटो भएकाले केही समय उहाँलाई स्वास्थ्य संस्थामै राखेर आराम गराउँछौँ,’ कटेलले भने ।
स्वास्थ्यकर्मीहरूले गर्भवती महिलालाई प्रसवको समय नजिकिँदै गर्दा स्वास्थ्य संस्थामा आउन पटक–पटक आग्रह गर्दै आएका छन्। तर गाउँबस्तीबाट स्वास्थ्य संस्था पुग्न लामो समय लाग्ने र आवश्यक स्रोत तथा साधनको अभावका कारण कतिपय महिला बाटोमै सुत्केरी हुनुपर्ने अवस्था रहेको कटेलको भनाइ छ।
स्वामिकार्तिक खापर गाउँपालिकामा चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएयता मेनुकासहित पाँच जना गर्भवती महिला बाटोमै सुत्केरी भइसकेको स्वास्थ्य शाखा प्रमुख पारश शाहीले बताए ।
‘यहाँको भौगोलिक विकटताका कारण गर्भवती महिलाहरू समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्दा पछिल्लो समय बाटोमै सुत्केरी हुने गरेका छन्,’ शाहीले भने ।
गाउँपालिकामा स्वास्थ्य सेवा विस्तारका लागि हाल ३ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य केन्द्र र ५ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन्। स्वास्थ्य संस्था भए पनि गाउँबस्तीबाट ती संस्थासम्म पुग्न लाग्ने समय र भौगोलिक कठिनाइका कारण गर्भवती महिलालाई प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामा समयमै पुर्याउन चुनौती देखिएको छ।



