

काठमाडौं – नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगको जोखिम पछिल्लो समय तीव्र रूपमा बढ्दै गएको छ। अस्वस्थकर खानपान, सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मदिरापानलगायतका कारण उच्च रक्तचाप, मधुमेह, मुटुरोग, क्यान्सर तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढिरहेको हो।
नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको हिस्सा पछिल्लो एक दशकमा उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाउँछ। सन् २०१० मा कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा ५१ प्रतिशत रहेकामा सन् २०१४ मा ६० प्रतिशत र २०१६ मा ६६ प्रतिशत पुगेको थियो। हाल कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको सरकारी तथ्याङ्क छ।
नसर्ने रोगको जोखिम न्यूनीकरण गर्दै सन् २०३० सम्म अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्य हासिल गर्न सरकारले बहुक्षेत्रीय रणनीति अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नसर्ने रोग नियन्त्रणका लागि शिक्षा, कृषि, वित्त र उद्योगलगायत विभिन्न मन्त्रालयलाई समेटेर ‘सबै नीतिमा स्वास्थ्य’को अवधारणा कार्यान्वयन गरिरहेको जनाएको छ। सुर्तीजन्य तथा मदिराजन्य पदार्थमा कर वृद्धि र विज्ञापनमा प्रतिबन्धलगायतका उपाय पनि अवलम्बन गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।
सरकारले प्राथमिक तहबाटै नसर्ने रोगको पहिचान तथा उपचार सेवा विस्तार गर्न ‘पेन’ कार्यक्रम सञ्चालन गरिरहेको छ। विश्व स्वास्थ्य संगठनको अवधारणामा आधारित यस कार्यक्रममार्फत प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट मुटुरोग, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोग तथा क्यान्सरको रोकथाम, पहिचान र उपचारमा जोड दिइएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाकी प्रमुख डा. पोमावती थापाका अनुसार जटिल तथा गम्भीर प्रकृतिका नसर्ने रोगको उपचार स्थानीयस्तरमै उपलब्ध गराउन जिल्ला अस्पतालमार्फत ‘पेन–प्लस’ सेवा सञ्चालनमा ल्याइएको छ।
पेन–प्लस कार्यक्रमअन्तर्गत टाइप–१ मधुमेह, बाथ मुटुरोग तथा सिकलसेलजस्ता जटिल दीर्घरोगको स्थानीयस्तरमै पहिचान, नियमित उपचार तथा औषधि उपलब्ध गराउने व्यवस्था गरिएको छ।
डा. थापाका अनुसार उच्च रक्तचाप, मधुमेह र क्यान्सरको प्रारम्भिक पहिचान, स्क्रिनिङ तथा नियमित उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सुदृढ बनाइएको छ। विपद्का समयमा पनि नसर्ने रोगका बिरामीको नियमित उपचार नरोकिने व्यवस्था गर्न ‘पेन–डी’ ढाँचा कार्यान्वयनमा ल्याइएको उनले बताइन्।
सरकारले नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनुका साथै मानसिक स्वास्थ्यलाई पनि नसर्ने रोगसम्बन्धी कार्यक्रमसँग थप व्यवस्थित रूपमा जोड्ने तयारी गरेको छ। नियमित औषधि आपूर्ति र डिजिटल स्वास्थ्य सूचना प्रणालीलाई समेत सुदृढ बनाउने सरकारी योजना छ।
स्वास्थ्य सेवा विभागका अनुसार चालु आर्थिक वर्षमा नसर्ने रोग तथा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि १ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेट पेन कार्यक्रम, उच्च रक्तचाप, सिकलसेल, थालेसेमिया, क्यान्सर, मुटुरोग, नसर्ने रोग पहिचान तथा बालबालिका र किशोरकिशोरीसम्बन्धी कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ।
नसर्ने रोगको स्क्रिनिङका लागि फागुनलाई विशेष महिना तोकिएको छ। यससँगै नसर्ने रोग नियन्त्रणसम्बन्धी बहुक्षेत्रीय कार्यक्रम र राष्ट्रिय क्यान्सर रणनीति कार्यान्वयनमा छन्।
मुटुरोग, क्यान्सर, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेहलाई प्रमुख घातक नसर्ने रोगका रूपमा लिइन्छ। यस्ता रोगका कारण ३० देखि ७० वर्ष उमेर समूहमा अकाल मृत्युको जोखिम २२ प्रतिशत रहेको जनाइएको छ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार देशका २० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या रहेको छ। उच्च रक्तचाप भएका वयस्कमध्ये ५०.२ प्रतिशतलाई मात्र आफ्नो अवस्थाबारे जानकारी वा पहिचान भएको छ भने ३१.७ प्रतिशतले मात्रै औषधि सेवन गरिरहेका छन्। उच्च रक्तचाप भएका वा औषधि सेवन गरिरहेका वयस्कमध्ये १८ प्रतिशतको मात्र रक्तचाप नियन्त्रणमा रहेको सर्वेक्षणले देखाएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ। यो दर सन् २०४० सम्ममा ७९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। नसर्ने रोगमध्ये सबैभन्दा बढी मृत्यु मुटुरोगबाट हुने गरेको छ भने त्यसपछि क्यान्सर, दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रहेका छन्।
भूकम्प, बाढी, पहिरो तथा जलवायु परिवर्तनजन्य विपद्का समयमा नसर्ने रोगका बिरामीको नियमित उपचारमा अवरोध पुग्ने गरेको छ। औषधिको अभाव, विस्थापन तथा नियमित फलोअप छुट्दा यस्ता बिरामी थप जोखिममा पर्ने जनस्वास्थ्य विज्ञहरूको भनाइ छ।
स्वास्थ्य सेवा विभागका उपचारात्मक महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले समुदायस्तरमै नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रवर्द्धनात्मक र निरोधात्मक कार्यक्रम सञ्चालन भइरहेको बताए।
उनका अनुसार सुर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रयोग नियन्त्रण र स्वस्थ जीवनशैली अपनाउनेबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रदेखि अस्पताल तहसम्म नसर्ने रोगको प्रारम्भिक पहिचान, परामर्श तथा उपचार सेवालाई एकीकृत रूपमा अघि बढाइएको उनले बताए।



