

काठमाडौं – औषधि व्यवस्था विभागले १५ दिनको अवधिमा टाइम फर्मास्युटिकल्सले उत्पादन गरेका दुईवटा औषधि न्यून गुणस्तरको पाइएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले असोज १ गते जारी गरेको सूचनाअनुसार टाइम फर्मास्युटिकल्स प्रालि, नवलपरासीले उत्पादन गरेको ग्लिपिड–१ (ग्लिमेपिराइड ट्याब्लेट्स यूएसपी) को ब्याच नम्बर जीएम–०७० न्यून गुणस्तरको पाइएको हो । उक्त औषधिको उत्पादन मिति अप्रिल २०२६ र म्याद सकिने मिति सेप्टेम्बर २०२७ रहेको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि यूएसपी–एनएफ २०२६ अनुसार घुलनशीलता परीक्षण (डिसोलुसन टेस्ट) मा तोकिएको मापदण्डअनुसार नपाइएको विभागले जनाएको छ ।
यसअघि विभागले भदौ १६ गते जारी गरेको सूचनामा पनि टाइम फर्मास्युटिकल्सले उत्पादन गरेको भोमिसेट सिरप (ओन्डानसेट्रोन ओरल सोलुसन यूएसपी) न्यून गुणस्तरको पाइएको जनाएको थियो । उक्त औषधिको ब्याच नम्बर भीएमएस–०१९ हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा भोमिसेट सिरप यूएसपी २०२६ अनुसार ओरल सोलुसनको प्याकेजिङसम्बन्धी आवश्यकतामा मापदण्डअनुसार नपाइएको विभागले जनाएको थियो । उक्त औषधिको उत्पादन मिति जुलाई २०२५ र म्याद सकिने मिति जुन २०२७ रहेको छ ।
यसरी विभागका दुई छुट्टाछुट्टै सूचनाअनुसार १५ दिनको बीचमा टाइम फर्मास्युटिकल्सले उत्पादन गरेका दुईवटा औषधि न्यून गुणस्तरको पाइएको हो ।
विभागले दुवै औषधिको बिक्री वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता (रिकल) गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ । साथै सम्बन्धित औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन पनि विभागले सबैमा जानकारी गराएको छ ।



