

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभागमा सूचीकृत नभएका डाइटरी सप्लीमेन्ट, न्युट्रासिउटिकल तथा अन्य आहारपूरक खाद्य पदार्थ खरिद तथा बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।
विभागले २०८३ भदौ ३० गते जारी गरेको सूचनामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा आहारपूरक (डाइटरी सप्लीमेन्ट) खाद्य पदार्थ नियमन कार्यविधि, २०७२ अनुसार विभागमा सूचीकृत हुनुपर्ने आहारपूरक खाद्य पदार्थ सूचीकृत नगरी बिक्रीवितरण भइरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभागका अनुसार फुड, हेल्थ, न्युट्रिसनल वा डाइटरी सप्लीमेन्ट, न्युट्रासिउटिकल तथा प्रोबायोटिक खाद्य पदार्थसम्बन्धी विभिन्न समाचार तथा सूचनाहरू सार्वजनिक भएका छन् ।
विशेषगरी गर्सिनिया कम्बोजिया तथा म्याग्नेसियम ग्लाइसिनेट विभागमा सूचीकृत नगरी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत बिक्रीवितरण भइरहेको पाइएको विभागले जनाएको छ ।
यी उत्पादनका सम्बन्धमा उपभोक्तालाई भ्रमित पार्ने खालका श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापनका साथै तथ्यहीन स्वास्थ्यसम्बन्धी दाबीहरू फेसबुक, टिकटक र इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत सम्प्रेषण भइरहेको विभागको भनाइ छ ।
विभागले त्यस्ता उत्पादन खरिद नगर्न आम उपभोक्तालाई जानकारी गराएको छ ।
साथै, विभागमा दर्ता नगरी त्यस्ता उत्पादन पैठारी तथा बिक्रीवितरण गरेको पाइएमा सम्बन्धित आयातकर्ता तथा बिक्रेतालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौंले जारी गरेको सूचनामा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुबेदीको नाम उल्लेख गरिएको छ ।



