

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा रुघाखोकी, ज्वरो तथा झाडापखालालगायत सरुवा रोगका बिरामी देखिन थालेका छन्। प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा गरिएको निगरानीका क्रममा ज्वरो तथा ज्वरोसँगै खोकीका बिरामीको संख्या तुलनात्मक रूपमा बढी पाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भदौ २३ गते ज्वरो तथा रुघाखोकीका बिरामीको संख्या ६६ जनासम्म पुगेको थियो। सामान्य ज्वरोका बिरामी भदौ २१ गते २० जनासम्म पुगेका थिए। झाडापखालाका बिरामी भदौ १८ र १९ गते ९–९ जना भेटिएका थिए। बिमिरासहितको ज्वरोका बिरामी भदौ १७, १८ र १९ गते लगातार ४–४ जना भेटिएका थिए।
पछिल्लो १० दिनको विवरण हेर्दा रसुवाका होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रका स्वास्थ्य संस्थामा ज्वरो र ज्वरोसँगै खोकीका बिरामी देखिने क्रम जारी छ। भदौ २१ देखि ३० गतेसम्मको अवधिमा ज्वरोसहित खोकीका २२ जना बिरामी दर्ता भएका छन्। सो अवधिमा झाडापखालाका बिरामी ३ जना र ज्वरोसँगै डाबर देखिएका बढीमा २ जना बिरामी फेला परेको मन्त्रालयले जनाएको छ।
रसुवाका विभिन्न स्थानमा सञ्चालन गरिएका ९ वटा होल्डिङ सेन्टरमा हाल २०४ जना रहेका छन्। उत्तरगया–५ स्थित शिवालय आधारभूत विद्यालयमा ४७ जना, भीमसेनस्थान प्राविमा ३७ जना, उत्तरगया–१ को गणेश आवासीय विद्यालयमा १९ जना र उत्तरगया–५ को निलकण्ठ माविमा २० जना राखिएका छन्।
त्यस्तै गोसाइँकुण्ड गाउँपालिका–५ स्थित कोमेन श्यामे वाङफेल माविमा ५४ जना र गोसाइँकुण्ड–३ को लिगलिङ कानिङ छोलिङ गुम्बामा २७ जना रहेका छन्।
होल्डिङ सेन्टरमा रहेका २०४ जनामध्ये १०६ जना पुरुष र ९८ जना महिला छन्। उमेर समूहअनुसार ५ वर्षमुनिका १५ जना, १० देखि १९ वर्षसम्मका ४७ जना र ६० वर्षभन्दा माथिका २० जना छन्। त्यहाँ एक गर्भवती, एक सुत्केरी र एक अपाङ्गता भएका व्यक्ति पनि रहेको मन्त्रालयले जनाएको छ।
नुवाकोटमा पनि सामान्य ज्वरो तथा ज्वरोसँगै खोकीका बिरामी भेटिएका छन्। भदौ २२ गते ज्वरोका १३ र ज्वरो तथा खोकीका १५ जना बिरामी भेटिएका थिए। उक्त संख्या सो अवधिको सबैभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ। नुवाकोटमा झाडापखाला, पेटसम्बन्धी समस्या र डाबरसहितको ज्वरोका बिरामीसमेत भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा हालसम्म कुनै प्रकोप वा महामारीको संकेत नदेखिएको जनाएको छ। मन्त्रालयकी प्रवक्ता यशोदा अर्यालले प्रभावित क्षेत्रमा ज्वरो तथा झाडापखालाजन्य बिरामीको दैनिक निगरानी भइरहेको बताइन्।
शंकास्पद बिरामीको प्रयोगशाला परीक्षणमार्फत संक्रमण यकिन गर्ने र आवश्यक उपचार गर्ने काम भइरहेको उनको भनाइ छ। होल्डिङ सेन्टर तथा समुदायमा इन्फ्लुएन्जा, मलेरिया र डेंगुको आरडीटी परीक्षणसमेत भइरहेको मन्त्रालयले जनाएको छ।
अर्यालका अनुसार हाल प्रभावित क्षेत्रमा २५ जना उपचाररत छन् भने अहिलेसम्म ७ हजार ७५८ जनाले स्वास्थ्य सेवा पाइसकेका छन्। प्रभावित क्षेत्रमा ६ वटा आकस्मिक चिकित्सा टोली परिचालन गरिएको छ।
स्वास्थ्य सेवासँगै प्रभावितको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। होल्डिङ सेन्टर, अस्पताल र प्रभावित समुदायमा मनोचिकित्सक, क्लिनिकल मनोविद् तथा मनोसामाजिक परामर्शकर्तासहितको टोली परिचालन गरिएको छ। बालबालिका, किशोरकिशोरी र प्रभावित परिवारलाई लक्षित गरी समूह परामर्श तथा उपचारात्मक मनोपरामर्श सञ्चालन भइरहेको अर्यालले बताइन्।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा १३७ जना स्वास्थ्य जनशक्ति परिचालन गरिएको छ। हालसम्म ९ हजार ८५८ जनालाई मनोपरामर्श प्रदान गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोप अभियानलाई पनि निरन्तरता दिइएको छ। रसुवामा उपलब्ध २१ हजार ६ सय डोज हैजा विरुद्धको खोपमध्ये १२ हजार ९९९ जनाले खोप पाएका छन्। नुवाकोटमा ८० हजार ५२३ डोजमध्ये ३४ हजार २४१ जनाले हैजा विरुद्धको खोप लगाएका छन्।
त्यस्तै धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको खोप रसुवामा ७ हजार ६८० डोज र नुवाकोटमा ८ हजार ९ सय डोज ढुवानी गरिएको मन्त्रालयले जनाएको छ।



