

काठमाडौं- नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जारी गरेको स्थिति प्रतिवेदनअनुसार देशका १६ जिल्लामा २६ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी झापामा ६ जनाको मृत्यु भएको छ ।
सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा एक–एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो पटक तनहुँ र रोल्पामा एक–एक जनाको मृत्यु भएको हो ।
मृतकमध्ये १२ पुरुष र १४ महिला छन् । मृत्यु भएकामध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको तथ्यांकले देखाएको छ । जेई संक्रमणबाट मृत्यु भएका सबैले खोप नलगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । संक्रमणको केस फ्याटालिटी रेट २१ प्रतिशत रहेको छ ।
हालसम्म देशका सातै प्रदेशका ३६ जिल्ला र ८४ पालिकामा १२१ जनामा प्रयोगशालाबाट जेई संक्रमण पुष्टि भएको छ । तीमध्ये ५६ जना उपचाररत रहेको प्रतिवेदनमा उल्लेख छ ।
पूर्वी नेपालबाट फैलिन सुरु भएको संक्रमण तराईका जिल्लामा बढी देखिएको छ । धान खेत तथा सुँगुर–बङ्गुर फार्म आसपास बसोबास गर्ने र जेईविरुद्धको खोप नलगाएका व्यक्ति संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।



