

काठमाडौँ – सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार गरिएको विधेयकमा आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको बिदा दिने प्रस्ताव गरिएको छ। विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा पेस गर्ने तयारी भइरहेको कानुनमन्त्री सोबिता गौतमले जानकारी दिएकी छन्।
मन्त्री गौतमका अनुसार प्रस्तावित संशोधनमा आमाका लागि तलबसहितको प्रसूति बिदा र बुबाका लागि नवजात शिशुको स्याहारका लागि तलबसहितको बिदाको व्यवस्था गर्न लागिएको हो।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्री गौतमले व्यस्त जीवनशैली र कामको चापका कारण पछिल्लो समय धेरै परिवार एक वा दुई सन्तानमा सीमित हुँदै गएको उल्लेख गरेकी छन्। यस्तो अवस्थामा मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकले नवजात शिशु तथा परिवारलाई पर्याप्त समय दिन पाउनु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।
प्रस्तावित व्यवस्थाअनुसार आमाले कम्तीमा ६ महिनासम्म तलबसहित प्रसूति बिदा पाउनेछन् भने बुबाले ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा पाउनेछन्। सरकारले यसलाई सुरक्षित मातृत्व तथा अभिभावकत्वसँग सम्बन्धित कानुनी व्यवस्थामा गर्न लागिएको महत्वपूर्ण संशोधनका रूपमा अघि बढाएको छ।
मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष रूपमा जोडिए पनि बच्चाको पालनपोषण र हेरचाह आमाको मात्र जिम्मेवारी नभएको बताएकी छन्। अभिभावकत्व दुवैको साझा जिम्मेवारी भएकाले बुबालाई समेत पर्याप्त बिदाको व्यवस्था गर्न लागिएको उनको भनाइ छ।
संशोधन विधेयकलाई आवश्यक प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मार्फत संसद्मा लैजाने तयारी भइरहेको मन्त्री गौतमले जानकारी दिएकी छन्।



