

काठमाडौं – रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बीएण्डबी अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
भदौ २९ गते उक्त रकमको चेक पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई हस्तान्तरण गरेको हो।
अस्पतालले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन राज्यलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालले कोषमा रकम प्रदान गरेको जनाएको छ।
बीएण्डबी अस्पतालले स्वास्थ्य सेवासँगै विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। अस्पतालले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवामा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।



