

काठमाडौँ – काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत घाइतेको अन्तर्वार्ता लिइएको विषय विवादमा परेको छ। युट्युब कार्यक्रम ‘इनसाइड द बङ्कर’का लागि सुरजसिंह ठकुरीले आईसीयूभित्रै पुगेर भिडियो रेकर्ड गरेको विषयलाई लिएर स्वास्थ्य सुरक्षा र बिरामीको गोपनीयतामाथि प्रश्न उठेको हो।
सार्वजनिक भएको भिडियोमा ठकुरी र घाइते दुवैले मास्क नलगाएको देखिन्छ। संवेदनशील स्वास्थ्य अवस्थामा रहेका बिरामीलाई आईसीयूभित्रै लामो कुराकानीमा सहभागी गराइएको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ। घाइतेका आफन्तको अनुमति नलिइएको आरोपसमेत उठेको छ।
आयोजक पक्षले भने आवश्यक स्वास्थ्य तथा सुरक्षा प्रोटोकल पालना गर्दै चिकित्सकको उपस्थितिमा र सम्बन्धित व्यक्तिको पूर्ण सहमतिमा अन्तर्वार्ता रेकर्ड गरिएको दाबी गरेको छ। ठकुरीले पनि अन्तर्वार्ता लिनुअघि चिकित्सकको अनुमतिमा अस्पताल पुगेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत ठकुरीले सहभागीहरूको शारीरिक तथा मानसिक अवस्थालाई प्राथमिकतामा राखेर चिकित्सकहरूको प्रत्यक्ष उपस्थितिमा कार्यक्रम रेकर्ड गरिएको बताएका छन्। उनका अनुसार त्रिशूली–३ ‘ए’ सुरुङभित्र बाढीमा फसेका उद्धारकर्ता तथा पीडितले भोगेका अँध्यारा र कहालीलाग्दा घण्टा, जीवन–मरणको संघर्ष तथा उद्धार प्रयासका अनुभव कार्यक्रममा समेटिएका छन्।
तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीले आईसीयू अत्यन्त संवेदनशील क्षेत्र भएकाले त्यहाँ प्रवेश र अन्तर्वार्ताका लागि आवश्यक स्वास्थ्य सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्ने बताए।
उनले भने, “आईसीयू संवेदनशील क्षेत्र हो । यो क्षेत्रमा प्रवेशकै लागि अनुमति दिन नमिल्ने हो । यो त अत्ति नै भयो ।”
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग यस विषयमा प्रतिक्रिया लिन खोजिए पनि सम्पर्क हुन सकेन।
चिकित्सकहरूका अनुसार आईसीयूमा भर्ना भएका बिरामीमा सङ्क्रमणको जोखिम उच्च हुने भएकाले अनावश्यक मानिसको प्रवेश र सम्पर्कलाई सकेसम्म सीमित गर्नुपर्छ। अस्पतालले तोकेको प्रोटोकलअनुसार निश्चित अवस्थामा मात्रै कुरुवासमेत बिरामीको सम्पर्कमा पुग्न पाउने व्यवस्था हुने उनीहरूको भनाइ छ।
एक चिकित्सकले आईसीयूमा गम्भीर अवस्थाका बिरामी रहने भएकाले उनीहरूलाई धेरै बोल्न लगाउँदा थप स्वास्थ्य जटिलता निम्तिन सक्ने बताए। उनका अनुसार भेन्टिलेटरमा रहेका वा अत्यधिक गम्भीर अवस्थाका बिरामीसँग प्रत्यक्ष संवाद जोखिमपूर्ण हुन्छ। भेन्टिलेटरमा नरहेका र वार्डमा सार्ने तयारीमा रहेका बिरामीसँग पनि चिकित्सकीय अवस्थालाई ध्यान दिएर मात्र सीमित कुराकानी गर्न सकिने उनले बताए।
ती चिकित्सकले भने, “सामान्यतया आईसीयूमा गम्भीर अवस्थाका बिरामीहरू राखिने भएकाले धेरै बोल्न लगाउँदा उनीहरूलाई थप स्वास्थ्य जटिलता र अप्ठ्यारो पर्न सक्ने हुन्छ। भेन्टिलेटरमा रहेका वा अत्यधिक क्रिटिकल बिरामीहरूसँगको प्रत्यक्ष संवाद जोखिमपूर्ण हुने भए पनि भेन्टिलेटर बाहिर रहेका र वार्डमा सार्न लागिएका बिरामीहरूसँग मात्र सीमित कुराकानी सम्भव हुन्छ।”
आईसीयूमा बिरामीको उपचारसँगै सङ्क्रमण नियन्त्रण र गोपनीयतालाई प्राथमिकता दिइन्छ। त्यसैले अस्पतालको अनुमति बिना बाह्य व्यक्तिको प्रवेश, क्यामेरा तथा माइकजस्ता उपकरणको प्रयोग र अनावश्यक गतिविधिमा सामान्यतया कडाइ गरिन्छ।
विशेष वा आपत्कालीन अवस्थामा समेत अस्पताल प्रशासन र आईसीयू इन्चार्जको अनुमति तथा बिरामी वा उनका आफन्तको पूर्वस्वीकृतिपछि मात्र सीमित सञ्चार गतिविधि गर्न सकिने चिकित्सकहरू बताउँछन्। त्यस्तो अवस्थामा प्रयोग हुने उपकरणलाई समेत सङ्क्रमण नियन्त्रणका मापदण्डअनुसार व्यवस्थापन गर्नुपर्ने र अन्य बिरामीको गोपनीयतामा असर पर्न नहुने उनीहरूको भनाइ छ।
यसै कारण आईसीयूभित्र बिरामीको अन्तर्वार्ता वा छायाङ्कन गर्दा स्वास्थ्य सुरक्षा, सङ्क्रमण नियन्त्रण र बिरामीको गोपनीयतासम्बन्धी मापदण्डलाई पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ।



