

काठमाडौं – ओजेम्पिक, वेगोभी र जेपबाउन्डजस्ता तौल घटाउन प्रयोग हुने जीएलपी–१ वर्गका औषधि सेवन गर्नुअघि केही पुरुषमा कपाल झर्ने जोखिम पहिचान गर्न सकिने सम्भावना नयाँ अनुसन्धानले देखाएको छ ।
अमेरिकाको न्यूयोर्क विश्वविद्यालय लाङ्गोन हेल्थको नेतृत्वमा गरिएको अध्ययनले जीएलपी–१ रिसेप्टरसँग सम्बन्धित जीन र पुरुषमा हुने वंशाणुगत कपाल झर्ने समस्या अर्थात् एन्ड्रोजेनेटिक एलोपेसियाबीच आनुवंशिक सम्बन्ध रहेको देखाएको हो । अध्ययन ‘जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजी’मा प्रकाशित भएको छ ।
अनुसन्धानका क्रममा जीएलपी–१ जीनको उच्च गतिविधिसँग सम्बन्धित आनुवंशिक विशेषता भएका पुरुषमा वंशाणुगत कपाल झर्ने अतिरिक्त जोखिम करिब ७ प्रतिशत बढी रहेको पाइएको छ । उच्च रक्तचाप, इन्सुलिन प्रतिरोध र टेस्टोस्टेरोनको स्तरजस्ता अन्य सम्भावित कारणलाई समेत समायोजन गर्दा यो सम्बन्ध कायम रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
अध्ययनकी वरिष्ठ अनुसन्धानकर्ता लिन पेटुखोभाका अनुसार आगामी अनुसन्धानले यो सम्बन्धलाई थप पुष्टि गरेमा चिकित्सकले जीएलपी–१ औषधि सिफारिस गर्नुअघि कपाल झर्ने जोखिम बढी भएका व्यक्तिको पहिचान गर्न सक्नेछन् । यसबाट तौल घटाउने उपचारसँगै कपाल झर्ने जोखिम कम गर्ने संयुक्त उपचार विकास गर्नसमेत सहयोग पुग्न सक्ने उनको भनाइ छ ।
यसअघि जीएलपी–१ औषधि प्रयोग गर्ने व्यक्तिमा देखिने कपाल पातलो हुने समस्यालाई तीव्र रूपमा तौल घट्दा देखिने अस्थायी प्रभावका रूपमा बुझिँदै आएको थियो । तर, नयाँ अध्ययनले कपाल झर्ने समस्यामा आनुवंशिक पक्षले समेत भूमिका खेल्न सक्ने संकेत गरेको छ ।
यद्यपि, अनुसन्धानकर्ताले यो अध्ययनले जीएलपी–१ औषधिले प्रत्यक्ष रूपमा कपाल झर्छ भन्ने प्रमाणित नगरेको स्पष्ट पारेका छन् । जीएलपी–१ गतिविधिले कपालको जरामा कसरी प्रभाव पार्छ भन्ने विषयमा अझै अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
त्यस्तै, पुरुषमा देखिएको यो आनुवंशिक सम्बन्ध महिलामा पनि लागू हुन्छ कि हुँदैन भन्ने विषयमा समेत थप अनुसन्धान गर्नुपर्ने देखिएको छ ।
अमेरिकामा पछिल्लो समय जीएलपी–१ वर्गका औषधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ । अध्ययनमा उद्धृत सर्वेक्षणअनुसार करिब १२ प्रतिशत अमेरिकीले तौल घटाउने उद्देश्यले जीएलपी–१ औषधि प्रयोग गरिसकेका छन् । सन् २०२० मा ओजेम्पिक स्वीकृत भएयता यसको प्रिस्क्रिप्सन पनि तीन गुणाभन्दा बढी बढेको अध्ययनमा उल्लेख छ ।
अनुसन्धानकर्ताका अनुसार नयाँ निष्कर्षले तौल घटाउने औषधिको प्रभावबारे थप बुझ्न मात्र नभई औषधि प्रयोगअघि व्यक्तिको आनुवंशिक जोखिम पहिचान गर्ने सम्भावनासमेत देखाएको छ । तर, यस सम्बन्धलाई चिकित्सकीय निष्कर्षका रूपमा स्थापित गर्न थप अध्ययन आवश्यक छ ।



