

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अस्पतालसँग स्पष्टीकरण मागिएको जानकारी दिएकी हुन्।
मन्त्री मेहताका अनुसार प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउनुपर्छ। त्यसैले अस्पताल परिसरबाहिरै सुत्केरी हुनुपरेको घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएको उनले बताइन्।
घटनाको वास्तविकता पत्ता लगाउन मन्त्रालयले तत्काल छानबिन टोली राजविराज पठाएको छ। छानबिनपछि घटनाको सत्यतथ्य सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।
छानबिनका क्रममा अस्पताल वा सम्बन्धित व्यक्तिको गल्ती वा लापरबाही देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्री मेहताले बताइन्।
स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास कायम राख्नुका साथै उनीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने विषयमा मन्त्रालय संवेदनशील र प्रतिबद्ध रहेको उनको भनाइ छ।



