

जनकपुरधाम । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको गेटबाहिर एक महिलाले शिशु जन्माएकाे खुलेकाे छ । राजविराज नगरपालिका–१४ पर्साहीकी ३० वर्षीया वविता पासवानले बुधबार बिहान करिब ४ः३० बजे अस्पतालनजिकै सडकमा छोरालाई जन्म दिएकी हुन् । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारी अस्पतालको भूमिकामाथि चर्को आलोचना भइरहेको छ ।
वविताका अनुसार मंगलबार राति करिब १ः३० बजे सुत्केरी व्यथा लागेपछि उनी श्रीमान् हरेराम पासवानसहित अस्पताल पुगेकी थिइन् । अस्पतालमा स्वास्थ्यकर्मीले अल्ट्रासाउन्ड, रगत तथा पिसाब परीक्षणलगायतका लागि करिब २ हजार ५०० रुपैयाँ लाग्ने बताएपछि आफूले पैसा नभएको जानकारी गराएको उनको दाबी छ ।
पैसा नभएका कारण तत्काल परीक्षण गराउन नसक्ने र आफूलाई भर्ना नगरी अस्पतालबाट बाहिर पठाइएको वविताको आरोप छ । त्यसपछि उनी परिवारका सदस्यसहित अस्पतालबाहिरको औषधि पसलनजिक पुगेकी थिइन् । केही समयपछि प्रसव पीडा बढेपछि उनले सडक किनारमै बच्चा जन्माएकी हुन् ।
शिशु जन्मिएपछि परिवारले आमा र बच्चालाई लिएर पुनः अस्पताल पुगेको र त्यहाँ स्वास्थ्यकर्मीले सालनाल काटेर स्वास्थ्य जाँचका लागि बस्न आग्रह गरेको बताइएको छ । तर, परिवार अस्पतालमा नबसी घर फर्किएको अस्पताल प्रशासनको भनाइ छ ।
यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले प्रारम्भिक जानकारीअनुसार वविता राति करिब १ बजे अस्पताल पुगेकी र आवश्यक स्वास्थ्य परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताएका छन् । उनका अनुसार आमा सुरक्षा कार्यक्रमअन्तर्गत आवश्यक खर्च अस्पतालले नै व्यवस्थापन गर्न सक्नेबारे परिवारलाई जानकारी गराइएको थियो ।
झाका अनुसार परीक्षणका लागि अस्पतालबाट बाहिरिएपछि परिवार पुनः अस्पताल नफर्की बिहान करिब ४ः३० बजे अस्पताल गेटनजिकै सडकमा सुत्केरी भएको थियो । बच्चा जन्मिएपछि उनीहरू अस्पताल आएपछि स्वास्थ्यकर्मीले सालनाल काट्नुका साथै आवश्यक स्वास्थ्य जाँचका लागि अस्पतालमै बस्न आग्रह गरेको उनले बताए ।
अस्पतालभित्रै गर्नुपर्ने परीक्षणका लागि स्वास्थ्यकर्मीले बाहिर पठाएको वा बिरामीसँग दुर्व्यवहार गरेको पाइएमा छानबिन गरी दोषीमाथि कारबाही गरिने मेसु झाले बताएका छन् । घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पनि घटनाबारे छानबिन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइसकेको बताएका छन् । दोषी कर्मचारी भेटिए कारबाही गर्ने प्रतिबद्धता अस्पताल प्रशासनले जनाएको छ ।
संघीय सरकार मातहत रहेको गजेन्द्रनारायण सिंह अस्पताल गरिब तथा विपन्न नागरिकका लागि उपचारको महत्वपूर्ण केन्द्र मानिन्छ । यस्तो अस्पतालको गेटबाहिरै सुत्केरी हुनुपरेको घटनाले सरकारी स्वास्थ्य सेवाको पहुँच, विपन्नमैत्री उपचार व्यवस्था र अस्पतालको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ ।



