

लाइबेरिया- हेपाटाइटिस बी खोप परीक्षणमा प्रयोग गरिएका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा संरक्षण गरिँदै आएका चिम्पान्जीको दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतलगायतको परीक्षण गरिएको हो।
संरक्षण केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेका अनुसार स्वास्थ्य परीक्षणका क्रममा चिम्पान्जीलाई एनेस्थेसिया दिएर टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो। उनीहरूको दाँत सफा गर्ने, एक्स–रे गर्ने र नङ काट्नेलगायतका कामसमेत गरिएको छ।
सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि ४०० भन्दा बढी चिम्पान्जी प्रयोग गरेको बताइएको छ। तीमध्ये धेरैलाई सानै उमेरमा जंगलबाट समातेर अनुसन्धानमा प्रयोग गरिएको थियो।
संरक्षण केन्द्रका अनुसार ती चिम्पान्जीलाई शरीरभित्रै हस्तक्षेप गर्नुपर्ने विभिन्न अनुसन्धानमा प्रयोग गरिएको थियो। लामो समयसम्म परीक्षण र पीडा सहनुपरेका कारण अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन प्रभावबारे अहिले पनि अध्ययन भइरहेको छ।
सन् २०१५ मा अनुसन्धान कार्यक्रम समाप्त हुँदा बाँकी रहेका ६० चिम्पान्जीको स्थायी हेरचाहको जिम्मेवारी ‘ह्युमेन वल्र्ड फर एनिमल्स’ ले लिएको थियो। हाल उनीहरू म्यान्ग्रोभ वनले ढाकिएका टापुहरूको समूहमा रहेको संरक्षण केन्द्रमा बस्दै आएका छन्।
यसपटक गरिएको स्वास्थ्य परीक्षणको मुख्य उद्देश्य चिम्पान्जीको दीर्घकालीन स्वास्थ्य अवस्था मूल्याङ्कन गर्नु, रोगका प्रारम्भिक संकेत पहिचान गर्नु र उमेर बढ्दै जाँदा आवश्यक पर्ने हेरचाहको योजना बनाउनु रहेको संस्थाले जनाएको छ।
परीक्षणका क्रममा उनीहरूलाई बुस्टर खोपसमेत दिइएको छ। बाँकी चिम्पान्जीको पनि क्रमशः स्वास्थ्य परीक्षण गर्ने योजना रहेको जनाइएको छ।
संरक्षण केन्द्रकी पशु चिकित्सक बेलेन पेरेज हर्नान्डोले लामो समयसम्म अनुसन्धानजन्य पीडा र कठिनाइ भोगेका चिम्पान्जीको नियमित स्वास्थ्य परीक्षण उनीहरूको हेरचाहको महत्वपूर्ण हिस्सा भएको बताइन्।
हाल संरक्षण केन्द्रमा रहेका चिम्पान्जीको औसत उमेर ३० देखि ३५ वर्ष रहेको छ। विगतमा गरिएका अनुसन्धानले उनीहरूको स्वास्थ्यमा पारेको दीर्घकालीन प्रभावबारे परीक्षणको विस्तृत नतिजा भने आउन बाँकी छ।
निर्देशक रिकोटेका अनुसार अनुसन्धानका क्रममा भोग्नुपरेको पीडाका केही प्रभाव अझै देखिने गरेका छन्। अब उनीहरूलाई सुरक्षित र सम्मानजनक जीवन बिताउने दोस्रो अवसर दिनु संरक्षण केन्द्रको प्राथमिकता रहेको उनले बताइन्।



