

काठमाडौँ – रसुवामा बाढीपछि स्वास्थ्य क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन, अभिलेखीकरण र समन्वयको काम अघि बढाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले बाढीबाट प्रभावित स्वास्थ्य संस्था, सेवा, सामग्री, जनशक्ति तथा औषधिको अवस्थाबारे तथ्याङ्क संकलन गरिरहेको जनाएको हो।
बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवामा परेको प्रभावको वास्तविक अवस्था पहिचान गर्न तथ्याङ्क संकलन भइरहेको कार्यालयले जनाएको छ। संकलित विवरणका आधारमा प्रभावित क्षेत्रमा आवश्यकताको मूल्याङ्कन गरी राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यालयले स्वास्थ्य क्षेत्रको क्षतिको विवरण संकलनका लागि सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्य संघसंस्थासँग समन्वय र सहयोगको अपेक्षा गरेको छ।
यसैबीच, बाढी प्रभावित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथ्याङ्क, विवरण वा प्रतिवेदन माग गर्ने गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि कार्यालयले प्रक्रिया तोकेको छ।
कार्यालयका अनुसार तथ्याङ्क वा सूचना माग गर्ने संस्थाले आफ्नो आधिकारिक लेटरहेडमा निवेदन दिनुपर्नेछ। निवेदनमा संस्थाको उद्देश्य, माग गरिएको विवरण तथा त्यसको प्रयोजन स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
सम्बन्धित संस्थाले कार्यालयमा उपस्थित भएर वा इमेलमार्फत औपचारिक रूपमा अनुरोध गर्न सक्नेछन्। तोकिएको प्रक्रिया पूरा नगरी माग गरिएका तथ्याङ्क वा विवरण उपलब्ध गराउन कार्यालय बाध्य नहुने स्पष्ट पारिएको छ।
बाढीपछि स्वास्थ्य क्षेत्रमा परेको वास्तविक प्रभाव पहिचान गरी आवश्यक स्रोत र सेवा व्यवस्थापन गर्न तथ्याङ्क संकलनलाई महत्वपूर्ण आधारका रूपमा लिइएको कार्यालयले जनाएको छ।



