

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि रिक्त रहेका महत्वपूर्ण पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।
प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री एवं प्रतिष्ठानकी सहकुलपति निशा मेहताले बिहीबार चार पदाधिकारी नियुक्त गरेकी हुन्।
मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको रेक्टरमा डा. रामनारायण मण्डल, रजिष्ट्रारमा श्याम लम्साल र डीनमा डा. कृष्णकुमार झा नियुक्त भएका छन्। त्यस्तै, अस्पताल निर्देशकको जिम्मेवारी डा. सुरेश विके रसाइलीले पाएका छन्।
महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा नयाँ पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानको प्रशासनिक व्यवस्थापन, शैक्षिक कार्यक्रम तथा अस्पतालका गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
नयाँ पदाधिकारीको नियुक्तिले प्रतिष्ठानमा रिक्त रहेका नेतृत्वदायी पदपूर्ति हुनुका साथै दैनिक प्रशासनिक तथा शैक्षिक कामकारबाही सञ्चालनमा सहजता हुने प्रतिष्ठानको विश्वास छ।



