

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल न्यूरोसर्जनस् समाजले प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा ५ लाख १ रुपैयाँ सहयोग गरेको छ।
रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि समाजले विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो।
समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. बिनोद राजभण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
समाजले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको सकुशल उद्धारका लागि समेत कामना गरेको छ।
विपद्को कठिन परिस्थितिमा उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, स्वदेशी तथा विदेशी उद्धारकर्मी, नागरिक समाज र स्वयंसेवीप्रति समाजले सम्मान व्यक्त गरेको छ।
साथै, विपद् प्रभावित नागरिकको पीडामा साथ दिन अन्य सहयोगी व्यक्ति तथा संस्थालाई समेत उदारतापूर्वक राहत तथा उद्धार कार्यमा सहभागी हुन समाजले आह्वान गरेको छ।



