

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार नुवाकोटको विदुर आसपासका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेकी छन्।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता र विपद्पछिका सम्भावित स्वास्थ्य जोखिमबारे जानकारी लिन मन्त्री मेहता नुवाकोट पुगेकी हुन्।
अनुगमनका क्रममा उनले विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढी प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटार र चन्द्रज्योति माध्यमिक विद्यालयलगायतका सेल्टरमा पुगेर अवस्थाबारे जानकारी लिइन्।
मन्त्री मेहताले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले बाढीका कारण घाइते भएका नागरिक, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग भेट गरी स्वास्थ्य सेवाको पछिल्लो अवस्थाबारे समेत जानकारी लिइन्।
अनुगमनका क्रममा प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने, औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिने र आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको मन्त्री मेहताले बताइन्।
बाढीपछि देखिन सक्ने सरुवा रोगलगायत अन्य स्वास्थ्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र काम भइरहेको उनको भनाइ छ।
त्यसैगरी, विपद्का कारण प्रभावित नागरिकमा देखिन सक्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्यालाई समेत प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मनोपरामर्शदातामार्फत विभिन्न सेल्टरमा रहेका प्रभावितलाई आवश्यक काउन्सिलिङ तथा उपचार सेवा प्रदान भइरहेको बताइएको छ।



