

काठमाडौं – नेपाल न्यूट्रास्युटिकल्स एण्ड कस्मेस्युटिकल्स एसोसिएसन (एनएनसिए) ले भोटेकोशी तथा नारायणी नदी आसपासमा आएको विनाशकारी बाढी, पहिरो र प्राकृतिक विपद्का कारण आफ्नो निर्धारित कार्यक्रम स्थगित गरेको छ।
एनएनसिएले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यही भदौ २० गते आयोजना गर्ने भनिएको कार्यक्रम केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो।
संघले रसुवाबाट सुरु भई भोटेकोशी हुँदै नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ। विपद्का कारण नागरिकले ज्यान गुमाउनुका साथै धेरै परिवारले आफन्त तथा घरसम्पत्ति गुमाएको र ठूलो संख्यामा नागरिक विस्थापित तथा प्रभावित भएको संघले जनाएको छ।
एनएनसिएले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेको छ।
विपद्को विषम परिस्थितिमा उत्सव, समारोह वा संस्थागत कार्यक्रमभन्दा मानवीय जीवनको सुरक्षा, उद्धार, राहत र सहयोगलाई प्राथमिकता दिनुपर्ने संघको भनाइ छ। सोही भावनाअनुसार एनएनसिए राहत तथा सहयोग संकलन, समन्वय र आवश्यक मानवीय सहयोगका काममा सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ।
संघले आफ्नो क्षमता र स्रोतसाधनअनुसार विपद् प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
कार्यक्रम स्थगित गर्नुपरेकोमा सदस्य, आमन्त्रित अतिथि, सञ्चारकर्मी, शुभेच्छुक तथा सम्बन्धित सबैमा परेको असुविधाप्रति संघले क्षमायाचना गरेको छ।
त्यसैगरी, विपद्को वास्तविक अवस्था, उद्धार तथा राहतका आवश्यकतालाई प्राथमिकताका साथ सम्प्रेषण गरी मानवीय सहयोगका लागि समाजलाई प्रेरित गर्न एनएनसिएले सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ।
संघले विपद्को समयमा संस्था आफ्नो कार्यक्रमका लागि मात्र नभई समाज र राष्ट्रका लागि उभिनुपर्ने धारणा राख्दै संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न आह्वान गरेको छ।



