

काठमाडौँ – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको उपचार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)–काठमाडौं बाल अस्पतालले निःशुल्क गर्ने भएको छ।
किओचले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित परिवारका बालबालिकालाई आवश्यक स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।
किओच परिवारले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
अस्पतालले विपद्बाट प्रभावित बालबालिकालाई स्वास्थ्य उपचार आवश्यक परे किओच–काठमाडौं बाल अस्पतालमा सम्पर्क गर्न आग्रह गरेको छ। उपचारका लागि अस्पतालले कुनै शुल्क नलिने जनाएको छ।
स्वास्थ्य उपचार आवश्यक पर्ने प्रभावित परिवारले ०१–५९७१५२५ वा ०१–४३७०३७३ नम्बरमा सम्पर्क गर्न सक्ने अस्पतालले जनाएको छ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारसँग ऐक्यबद्ध रहेको पनि किओचले जनाएको छ।



