

काठमाडौँ – विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य उपचार तथा आपतकालीन प्रतिकार्यका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई १ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत बाढी प्रभावित क्षेत्रका लागि उक्त सहयोग उपलब्ध गराइएको हो।
डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले नेपालमा उत्पन्न आपतकालीन अवस्थाको प्रतिकार्य र पुनःस्थापनाका काममा संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि आवश्यक आपतकालीन स्वास्थ्य सामग्री पठाइएको थियो। उक्त सहयोगअन्तर्गत करिब १० हजार मानिसलाई तीन महिनासम्म स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने सामग्री तथा पालसमेत प्रदान गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत स्वास्थ्य उपचार तथा सुरक्षाका लागि आवश्यक अन्य सामग्री पनि पठाइएको डब्लूएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले जनाएको छ।
बाढीपछि घाइतेको संख्या बढ्नुका साथै झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिमसमेत बढ्न सक्ने डब्लूएचओले जनाएको छ। यस्तो अवस्थामा सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै समयमै सतर्कता अपनाउन पनि संगठनले आग्रह गरेको छ।



