

काठमाडौं – सामाजिक सञ्जालमार्फत सरकारलाई शव व्यवस्थापनको विधिबारे सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई सरकारले नै रसुवामा शव व्यवस्थापनको जिम्मेवारी दिएको छ।
संघीय सरकारले निरौलालाई रसुवाको टिमुरेमा शव व्यवस्थापनका लागि काजमा खटाउने निर्णय गरेको हो। आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई टिमुरे पठाउने निर्णय गरिएको जनाइएको छ।
निरौलाले शनिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत विपद्मा मृत्यु भएकाहरूको शव गाड्नुको सट्टा सम्बन्धित धर्म र परम्पराअनुसार अन्तिम संस्कार गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।
उनले कोभिड–१९ महामारीका समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहँदा शव व्यवस्थापन गर्दा भोगेको अनुभवसमेत सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।
शव व्यवस्थापनबारे आफ्नो अनुभव र धारणा सार्वजनिक गरेको भोलिपल्टै सरकारले निरौलालाई रसुवामा सोही कामको जिम्मेवारी दिएको हो।
यससँगै सामाजिक सञ्जालमा सरकारलाई शव व्यवस्थापनबारे सुझाव दिएका निरौलाले अब रसुवामा विपद्का कारण ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने भएका छन्।



