

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीको चार दिन बितिसकेको छ । उद्धार, राहत तथा शव व्यवस्थापनमा राज्यका संयन्त्र सक्रिय भइरहेका बेला बाढीपछि बढ्न सक्ने अर्को स्वास्थ्य जोखिमतर्फ पनि ध्यान दिनुपर्ने भएको छ । त्यो हो– सर्पदंश ।
बाढी तथा डुबानपछि सर्पहरू आफ्नो बासस्थानबाट बाहिर निस्कने भएकाले सर्पदंशको जोखिम बढ्ने स्वास्थ्य विज्ञ डा. प्रकाश बुढाथोकी बताउँछन् । उनका अनुसार विपद्को समयमा उद्धार, घाइतेको उपचार र शव व्यवस्थापनमा ध्यान केन्द्रित हुँदा सर्पदंशको जोखिम ओझेलमा पर्न सक्छ । अझ प्रमुख उपचार केन्द्रमै जीवनरक्षक एन्टिभेनमको पर्याप्त उपलब्धता नहुँदा समस्या थप जटिल बन्न सक्ने उनको भनाइ छ ।
२०८३ वैशाख १ गतेदेखि पछिल्लो चार महिनामा विषालु सर्पको डसाइबाट कम्तीमा ६६ जनाको मृत्यु भएको तथ्यांक छ । सो अवधिमा ९ सय ५६ जना सर्पदंशमा परेका छन् । यो तथ्यांक सरकारी अस्पतालमा उपचारका लागि पुगेका बिरामीमा आधारित भएकाले गाउँघरमै हुने घटना तथा अस्पताल पुग्नुअघि हुने मृत्यु यसमा समावेश छैन ।
नेपालमा सर्पदंशको अवस्था वर्षेनी गम्भीर बन्दै गएको तथ्यांकले देखाउँछ । २०७९ सालमा २४ जना सर्पदंशमा पर्दा १९ जनाको मृत्यु भएको थियो । २०८० मा ३५ जनालाई सर्पले डस्दा २० जनाको मृत्यु भयो । २०८१ मा ८४ जनालाई सर्पले डस्दा १९ जनाको मृत्यु भएको थियो भने २०८२ सालमा ६ सय २९ जना सर्पदंशमा पर्दा १ सय १ जनाको मृत्यु भएको तथ्यांक छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मधेस प्रदेशका आठवटै जिल्ला, कोशी प्रदेशका झापा, मोरङ र सुनसरी, बागमतीको चितवन, गण्डकीको नवलपरासी पूर्व, लुम्बिनीका पाल्पा, कपिलवस्तु, बाँके, दाङ, रूपन्देही, नवलपरासी पश्चिम र बर्दिया तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर गरी २४ जिल्ला सर्पदंशको उच्च जोखिममा छन् ।
अस्पतालमा आधारित तथ्यांकअनुसार नेपालमा वर्षेनी करिब २० हजार जना सर्पदंशका कारण अस्पताल भर्ना हुने र करिब एक हजार जनाको मृत्यु हुने गरेको देखिन्छ । तर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जेनेभा विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनको संयुक्त अध्ययनले नेपालमा वार्षिक करिब ३७ हजार ६ सय ६१ जनालाई सर्पले डस्ने र ३ हजार २ सय २५ जनासम्मको मृत्यु हुने गरेको देखाएको छ । अस्पतालको तथ्यांकभन्दा यो संख्या निकै ठूलो हुनुको मुख्य कारण धेरै घटना गाउँघरमै हुने र कतिपयको अस्पताल पुग्नुअघि नै मृत्यु हुने अवस्था रहेको डा. बुढाथोकी बताउँछन् ।
नेपालमा हाल पहिचान भएका ८९ प्रजातिका सर्पमध्ये १७ देखि २२ प्रजाति विषालु रहेको बताइन्छ । गोमन, करेत र रसेल भाइपर प्रमुख विषालु सर्पमा पर्छन् । गोमनले डसेपछि ३० मिनेटदेखि तीन घण्टाभित्र लक्षण देखिन सक्छ भने करेतको डसाइमा दुईदेखि १२ घण्टासम्ममा लक्षण देखिन सक्ने डा. बुढाथोकी बताउँछन् ।
तराई क्षेत्रमा श्वासप्रश्वास प्रणालीमा असर पार्ने गोमन र करेत मुख्य विषालु सर्प हुन् भने पहाडी क्षेत्रमा शरीर सुन्निने तथा रगतमा असर पारेर अंगभंग वा मृत्यु गराउन सक्ने भाइपर प्रजातिका सर्प पाइन्छन् । त्यसैले सर्पले डसेको अवस्थामा सकेसम्म एक घण्टाभित्र बिरामीलाई उपचार केन्द्र पुर्याउनुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव रहेको उनी बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको एक अध्ययनअनुसार विषालु सर्पले डसेका सबै व्यक्तिमा विष प्रवेश गर्छ भन्ने हुँदैन । करिब ३० प्रतिशतमा मात्र विष प्रवेश गर्ने र ७० प्रतिशतमा विष नलाग्ने अवस्था हुन सक्ने बताइन्छ । तर सर्प विषालु हो वा होइन भनेर घरमै छुट्याउने प्रयास गर्नु जोखिमपूर्ण हुने भएकाले सर्पले डसेपछि तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने डा. बुढाथोकीको सुझाव छ ।
सर्पले डसेको स्थानलाई साबुनपानी वा सफा पानीले पखालेर सफा कपडाले छोप्न सकिन्छ । बिरामीलाई आत्तिन नदिई शान्त राख्नुपर्ने र अनावश्यक रूपमा दौडाउने वा हिँडाउने गर्नु हुँदैन । बिरामीलाई सकेसम्म कम चलाउँदा विष शरीरमा फैलिने गति कम गर्न सहयोग पुग्ने उनी बताउँछन् ।
बिरामी होसमा भए पानीलगायत झोल पदार्थ दिन सकिने भए पनि सर्पदंशको उपचारका लागि झारफुकमा समय बिताउनु नहुने डा. बुढाथोकी बताउँछन् । अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भए पनि प्राथमिक उपचार गर्दै सकेसम्म छिटो स्वास्थ्य संस्थातर्फ लैजानुपर्ने उनको सुझाव छ ।
सर्पदंशको मुख्य उपचार एन्टिभेनम हो । टोकेको सर्प पहिचान भएको अवस्थामा मोनोभ्यालेन्ट अर्थात् सम्बन्धित प्रजातिको एन्टिभेनम प्रयोग गर्न सकिन्छ भने सर्प पहिचान हुन नसकेको अवस्थामा पोलिभ्यालेन्ट एन्टिभेनम प्रयोग गरिन्छ । नेपालमा प्रयोग हुने पोलिभ्यालेन्ट एन्टिस्नेक भेनम गोमन, करेत, रसेल भाइपर र स्केल्ड भाइपरलगायत विषालु सर्पका विषविरुद्ध प्रयोग गरिन्छ ।
गम्भीर बिरामीलाई एन्टिभेनमसँगै कृत्रिम श्वासप्रश्वास, रक्तसञ्चार व्यवस्थापन, एन्टिबायोटिक तथा आवश्यक अवस्थामा डायलाइसिसलगायत सहयोगी उपचार पनि आवश्यक पर्न सक्ने डा. बुढाथोकी बताउँछन् ।
सर्पदंशबाट बच्न घरवरिपरि अनावश्यक घाँस, खर र झाडी नराख्ने, सर्प पस्न सक्ने दुलो बन्द गर्ने तथा घरभित्र खाद्य वस्तु खुला रूपमा नराख्नुपर्ने उनको सुझाव छ । रातिको समयमा सर्पदंशको जोखिम बढी हुने भएकाले ढोका तथा झ्याल बन्द राख्ने, झ्यालमा जाली लगाउने र बाहिर हिँड्दा जुत्ता लगाउने तथा टर्च वा अन्य उज्यालोको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् ।
घरभित्र तथा बाहिर सामान जथाभावी नराख्ने, सर्प बस्न सक्ने सम्भावित स्थानमा जाँदा सावधानी अपनाउने र रातिको समयमा विशेष सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ । सर्प देखिएमा आफैं समात्ने वा मार्ने प्रयास गर्नुको सट्टा सुरक्षित दूरी कायम गर्नुपर्ने उनी बताउँछन् ।
सर्पदंश रोकथाम र नियन्त्रणसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३ सरकारले तयार गरेको छ । लामो समयसम्म ग्रामीण तथा तराई क्षेत्रको समस्याका रूपमा मात्र हेरिँदै आएको सर्पदंशलाई उक्त कार्ययोजनाले सार्वजनिक स्वास्थ्य र विपद् व्यवस्थापनको साझा विषयका रूपमा अघि सारेको छ ।
सरकारले २०५२/५३ सालदेखि सर्पदंशको प्रमुख औषधि एन्टिभेनम निःशुल्क उपलब्ध गराउँदै आएको छ । एन्टिभेनमको दुरुपयोग रोक्न सरकारी उपचारसम्बन्धी निर्देशिकाअनुसार आवश्यकताका आधारमा मात्र प्रयोग गर्नुपर्ने डा. बुढाथोकी बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा सर्पदंशलाई उपेक्षित उष्णप्रदेशीय रोगको सूचीमा राखेको थियो । विश्व स्वास्थ्य संगठनको स्नेकबाइट रोडम्यापअनुसार नेपालले सन् २०३० सम्म सर्पदंशबाट हुने मृत्यु तथा अपांगता आधाले घटाउने लक्ष्य लिएको छ ।
सर्पदंशबाट हुने मृत्यु रोक्न गाउँगाउँमा सर्पको डसाइबाट बच्ने उपायबारे व्यापक जनचेतना फैलाउनुका साथै नजिकका स्वास्थ्य संस्थामा एन्टिभेनम र दक्ष स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्नुपर्ने डा. बुढाथोकीको भनाइ छ । उनका अनुसार सर्पदंशबाट हुने मृत्यु रोक्न सकिने भएकाले विपद्को समयमा यसलाई पनि उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।



