

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रसुवामा बाढीपहिरोपछि फेला परेका तर तत्काल पहिचान खुल्न नसकेका शवलाई नष्ट वा गाडिएको नभई सुरक्षित रूपमा संरक्षण गरिएको स्पष्ट पारेकी छन् ।
उनका अनुसार विपद्का क्रममा फेला परेका शव लामो समयसम्म कुहिँदा वातावरण र जनस्वास्थ्यमा असर पर्न सक्ने भएकाले संक्रमण तथा सम्भावित महामारीको जोखिमलाई समेत ध्यानमा राखेर प्रचलित स्वास्थ्य मापदण्ड र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिएको हो ।
मन्त्री मेहताले शवबाट डीएनएलगायत आवश्यक नमुना सुरक्षित राखिने भएकाले भविष्यमा वैज्ञानिक विधिबाट पहिचान गर्न सकिने व्यवस्था गरिएको बताइन् । पहिचान खुलेपछि सम्बन्धित परिवारलाई उनीहरूको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्ने अवसर उपलब्ध गराइने उनले स्पष्ट पारिन् ।
रसुवामा बाढीपहिरोपछि पहिचान हुन नसकेका शवको वैज्ञानिक पहिचान तथा सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढिरहेको मन्त्री मेहताको भनाइ छ ।
यसैबीच, उनले विपद्को संवेदनशील अवस्थामा अपुष्ट सूचना तथा भ्रामक सामग्री सामाजिक सञ्जालमा शेयर नगर्न आग्रह गरेकी छन् । विपद्का बेला आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गर्दै उनले सबै पक्षलाई संवेदनशील र जिम्मेवार बन्नसमेत अपिल गरेकी छन् ।



