

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६ सय ६९ वटा शव फेला परिसकेका छन् । बाढीबाट प्रभावित क्षेत्रमा संक्रमणजन्य रोग फैलिने जोखिमसमेत उच्च रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् ।
बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिपछि संक्रामक रोगको जोखिम सधैँ रहने गरेको डा. पुनले बताए । विभिन्न देशका अनुभवलाई हेर्दा कतिपय स्थानमा बाढीपहिरोपछि संक्रमण फैलिएको पाइएको भन्दै उनले समयमै उचित व्यवस्थापन हुन नसके जोखिम झन् बढ्ने बताए ।
‘जति ढिलो भयो, त्यति नै संक्रमणहरू विकसित हुने क्रम रहन्छ । अन्ततः ती संक्रमण मानिसमा सर्ने र प्रकोपको रूप लिने सम्भावना रहन्छ,’ उनले भने ।
उनका अनुसार बाढीपछि सबैभन्दा बढी दूषित पानी र खानेकुराबाट सर्ने रोगको जोखिम हुन्छ । बाढीका कारण फोहोर तथा विभिन्न संक्रमित वस्तु पानी र खाद्य पदार्थमा मिसिन सक्ने भएकाले त्यस्ता माध्यमबाट मानिसमा संक्रमण फैलिन सक्छ । विशेषगरी पानीबाट सर्ने रोगहरू छिटो फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
बाढीपछि जमेको पानीका कारण लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम पनि बढ्न सक्छ । त्यसैगरी मानिसहरू विस्थापित भएर खुला ठाउँ, झाडी वा अस्थायी बासस्थानमा बस्नुपर्ने अवस्थामा विभिन्न किराको टोकाइबाट संक्रमण हुनसक्ने डा. पुनले बताए ।
२०७२ सालको भूकम्पपछि पनि ‘स्क्रब टाइफस’ अर्थात् माइटको टोकाइबाट हुने संक्रमण बढेको उदाहरण दिँदै उनले अहिलेको विपद्पछि पनि यस्ता संक्रमण देखिन सक्ने बताए ।
विस्थापितहरू एउटै स्थानमा बाक्लो गरी बस्नुपर्ने भएकाले रुघाखोकीजस्ता संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने जोखिम पनि उत्तिकै रहेको उनको भनाइ छ । प्राकृतिक विपत्तिपछि संक्रामक रोगसँगै नसर्ने रोगका समस्या पनि बढ्न सक्ने उनले बताए । विशेषगरी विस्थापितहरूमा मानसिक तनाव बढ्नुका साथै मधुमेह र उच्च रक्तचापजस्ता समस्या देखिन सक्ने उनको भनाइ छ ।
बाढीपछि शव व्यवस्थापन, फोहोरमैला तथा सड्ने–गल्ने वस्तुको उचित व्यवस्थापन चुनौतीपूर्ण बनेकाले रोग नियन्त्रणका लागि तीनै तहका सरकारबीच एकीकृत र समन्वयात्मक योजना आवश्यक रहेको डा. पुनले बताए ।
स्थानीय, प्रदेश र संघीय सरकारबीच स्पष्ट समन्वय गरेर सम्भावित रोगको पहिचान, उपचार र संक्रमण नियन्त्रणको तयारी गर्नुपर्ने उनको सुझाव छ । कसैलाई झाडापखालाजस्ता समस्या देखिए तत्काल पहिचान गरी उपचार गर्न सकेमा अन्य विस्थापितमा संक्रमण फैलिनबाट रोक्न सकिने उनले बताए ।
बाढी प्रभावित नागरिक अहिले ठूलो मानवीय तथा भौतिक क्षतिका कारण पीडा र तनावमा रहेकाले उद्धार तथा राहतमा खटिएका सरकारी निकाय र संघ–संस्थाले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने डा. पुनले बताए ।
प्रभावित क्षेत्रमा शुद्ध खानेपानी र सुरक्षित खानेकुराको उपलब्धतामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । प्रभावित नागरिकले पनि ज्वरो आउने, झाडापखाला लाग्ने वा अन्य असामान्य स्वास्थ्य समस्या देखिए तत्काल नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उनले बताए ।
समयमै बिरामीको पहिचान गरी उपचार गर्न सके संक्रमणलाई ठूलो महामारीको रूप लिनबाट रोक्न सकिने डा. पुनको भनाइ छ ।



