

काठमाडौँ – नेपाल औषधि उत्पादक संघले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य सेवा उपलब्ध गराउन औषधि उद्योगहरूलाई आग्रह गरेको छ ।
संघले भदौ १३ गते अपिल जारी गर्दै बाढी तथा प्राकृतिक विपत्तिका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकको जीवन र स्वास्थ्यमा गम्भीर असर परेको जनाएको छ । तत्काल उद्धार र राहतसँगै विपत्तिपछि देखिन सक्ने रोग, संक्रमण तथा अन्य जनस्वास्थ्य जोखिम न्यूनीकरणमा समेत विशेष ध्यान दिनुपर्ने संघको भनाइ छ ।
प्रभावित नागरिकको जीवनरक्षा र स्वास्थ्य सुरक्षाका लागि औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको संघले जनाएको छ ।
नेपाल औषधि उत्पादक संघका अनुसार उसका सदस्य उद्योगहरूले बाढीपछि विभिन्न संघसंस्था तथा सरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा औषधि, स्वास्थ्य सामग्री र राहत सामग्री पठाउँदै आएका छन् । केही औषधि उद्योगले स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा परिचालन गरी स्वास्थ्य सेवा तथा आवश्यक सहयोगसमेत उपलब्ध गराइरहेका छन् ।
आगामी दिनमा पनि प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी आफ्नो क्षमताअनुसार औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवा उपलब्ध गराउन संघले सबै औषधि उद्योगलाई आग्रह गरेको छ । स्वास्थ्य शिविर सञ्चालन गरी प्रभावित नागरिकलाई प्रत्यक्ष सेवा दिन इच्छुक उद्योगहरूलाई सक्रिय सहभागिता जनाउनसमेत अपिल गरिएको छ ।
प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा र सामग्री पुर्याउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा स्वास्थ्यकर्मीसँग आवश्यक समन्वय भइरहेको संघले जनाएको छ ।
संघले विपद्का बेला औषधिको जथाभावी प्रयोग तथा वितरणले थप स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भन्दै त्यसतर्फ पनि सचेत रहन आग्रह गरेको छ । औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह, संलग्नता र निगरानीमा मात्रै प्रयोग तथा वितरण गर्नुपर्नेमा संघले जोड दिएको छ ।
सही औषधि, सही मात्रा र सही व्यक्तिसम्म सुरक्षित रूपमा पुर्याउनुपर्ने भन्दै संघले विपद्को समयमा औषधि व्यवस्थापनलाई प्राथमिकतामा राख्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।



