

काठमाडौं- नेपाल औषधि उत्पादक संघले हालैको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत सम्पूर्ण क्षेत्रका नागरिकप्रति ऐक्यबद्धता जनाएको छ।
संघले विज्ञप्तिमार्फत विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइते, विस्थापित र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बाढी तथा पहिरोका कारण घर–बस्ती, सडक, पुल, विद्युत्, सञ्चार, उद्योग–व्यवसाय, भन्सार तथा अत्यावश्यक वस्तुको आपूर्ति प्रणालीमा परेको असरलाई ध्यानमा राख्दै खोज तथा उद्धार, राहत, उपचार र पुनर्स्थापनाका कामलाई उच्च प्राथमिकताका साथ प्रभावकारी बनाउन संघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र र सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।
औषधि मानव जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तु भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी आवश्यकता तत्काल पहिचान गरी अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको पर्याप्त, नियमित र निर्वाध आपूर्ति सुनिश्चित गर्न स्वदेशी औषधि उद्योगहरू प्रतिबद्ध रहेको संघले जनाएको छ।
संघले विपत्तिबाट प्रभावित उद्योगी, व्यवसायी, श्रमिक, कृषक तथा सर्वसाधारणको वास्तविक क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि विशेष आर्थिक तथा नीतिगत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।
विपद् सम्पूर्ण राष्ट्रको साझा पीडा भएकाले पीडितको आँसु पुछ्ने, जीवन बचाउने तथा प्रभावित परिवार र व्यवसायलाई पुनःस्थापित गर्ने कार्य राज्य, निजी क्षेत्र र समाज सबैको साझा दायित्व भएको संघले उल्लेख गरेको छ।
संघले ‘विपद्मा पीडितको साथमा राज्य, निजी क्षेत्र र सम्पूर्ण समाज’ भन्ने भावनाका साथ सबै नेपालीलाई खोज तथा उद्धार, राहत, उपचार, औषधि आपूर्ति तथा पुनर्स्थापनामा आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्न आह्वान गरेको छ।



