

हेटौँडा – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित ८१ जना घाइते तथा बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले बिहीबार बिहान ८ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार रसुवा अस्पतालमा ४५ जना उपचारका लागि पुगेका छन् । तीमध्ये आठ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने एक जनाको मृत्यु भएको छ । हेलिकोप्टरबाट उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारपछि काठमाडौं रेफर गरिएको मन्त्रालयले जनाएको छ ।
नुवाकोटको त्रिशूली अस्पतालमा १६ जना उपचारका लागि पुगेकामा १३ जना डिस्चार्ज भएका छन् । हाल तीन जना उपचाररत छन् । उपचाररत एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
त्यस्तै, नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा २० जना उपचारका लागि पुगेका छन् । तीमध्ये पाँच जना डिस्चार्ज भएका छन् भने १५ जनाको उपचार भइरहेको छ ।
बाढीपछि बागमती प्रदेशका प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाले र्यापिड रेस्पोन्स टिम (आरआरटी) र इमर्जेन्सी मेडिकल टिम (ईएमटी) लाई पूर्ण तयारी अवस्थामा राखेका छन् ।
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजकत्वमा भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बज्रबाही चापागाउँ अस्पताल, हेटौँडा अस्पताल तथा काठमाडौंको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
घाइतेको उपचार भइरहेका अस्पतालमा अत्यावश्यक औषधि तथा उपकरणको व्यवस्थापनका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक वसन्त अधिकारीसहितको टोली प्रभावित क्षेत्रमा खटिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उच्च सतर्कतामा राख्दै आवश्यक समन्वय, सूचना आदानप्रदान र आकस्मिक प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिइएको छ ।
थप उपचार तथा आपत्कालीन स्वास्थ्य व्यवस्थापनका लागि ट्रमा सेन्टर काठमाडौंसँग समन्वय गरिएको छ भने स्वास्थ्य आपत्कालीन केन्द्र काठमाडौं र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र हेटौँडाबीच निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।



