

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने गरी चार जनाको उपचार भइरहेको छ ।
त्यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डकी दावा डोल्माको उपचार भइरहेको छ ।
बाँकी घाइतेहरूको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचाररत घाइतेहरूमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, कुशल मगर, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ र सल्यानका गिरीलाल बुढाथोकी रहेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगर तथा रसुवा गोसाइँकुण्ड–७ टिमुरेका कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ । नगरकोटीसँगै उनकी तीन महिनाकी नाबालक शिशुसमेत रहेको जनाइएको छ ।
यस्तै टिमुरे, गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले र नेमा दोर्जे घले, फुर्प लामा, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ की सुराची राना मगर तथा भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बाढीबाट घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा उपचार जारी रहेको जनाइएको छ ।



