

काठमाडौँ – ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नारासहित आज विश्व लामखुट्टे दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। लामखुट्टेको टोकाइबाट फैलिने रोगबारे जनचेतना बढाउने र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले यो दिवस मनाइन्छ।
लामखुट्टेको टोकाइबाट औँलो, डेंगु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता विभिन्न रोग फैलिने गर्छन्। नेपालमा हालसम्म लामखुट्टेका १६८ प्रजाति पहिचान भइसकेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।
पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावटमा समेत परिवर्तन देखिन थालेको छ। यसको प्रभावस्वरूप उच्च हिमाली क्षेत्रसम्म पनि लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
कीटजन्य रोग नियन्त्रणका लागि सरकारले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोग पहिचान, निगरानी तथा नियन्त्रणसम्बन्धी काम अघि बढाइरहेको जनाएको छ।
किट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय नेपालका ५६ जिल्लामा कीटजन्य रोग देखापरिसकेको छ। लामखुट्टेको वृद्धि र रोग फैलिने सम्भावना कम गर्न व्यक्तिगत सरसफाइसँगै घर तथा वरपरको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्।
लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीरका अधिकांश भाग ढाकिने गरी कपडा लगाउने तथा घरवरपर पानी जम्न नदिने जस्ता सावधानी अपनाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।



