

काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले तारकेश्वर नगरपालिकामा प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा पुनः सञ्चालन गर्ने भएको छ। यसका लागि अस्पताल र तारकेश्वर नगरपालिकाबीच मंगलबार सम्झौता भएको हो।
सम्झौताअनुसार प्रसूतिगृह अस्पतालबाट खटिने विशेषज्ञ चिकित्सकले प्रत्येक महिनाको दोस्रो बुधबार वडा नम्बर १ मा रहेको साङ्गला प्राथमिक स्वास्थ्य केन्द्रमा बाह्यरोग सेवा प्रदान गर्नेछन्। यस्तै, महिनाको अन्तिम बुधबार वडा नम्बर ८ स्थित मनमैजु स्वास्थ्य चौकीमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी बाह्यरोग सेवा सञ्चालन हुनेछ।
यसैगरी, महिनामा एक दिन प्रसूतिगृह अस्पतालका रेडियोलोजिस्टमार्फत तारकेश्वरमै यूएसजी सेवा उपलब्ध गराइनेछ।
सम्झौतामा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि तारकेश्वर क्षेत्रका गर्भवती महिला तथा स्त्रीरोगसम्बन्धी समस्या भएका सेवाग्राहीले स्थानीय तहमै विशेषज्ञ चिकित्सकीय सेवा पाउने भएका छन्। आवश्यकताअनुसार भिडियो एक्सरेमार्फत स्वास्थ्य परीक्षण गरी समस्या पहिचान तथा उपचारको व्यवस्था पनि मिलाइएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. अधिकारीले स्थानीय नागरिकलाई विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता कम हुने बताए। जटिल समस्या देखिएका बिरामीलाई समयमै सम्बन्धित अस्पतालमा रिफर गर्न पनि सहज हुने उनको भनाइ छ।
उनले स्थानीयस्तरमै नियमित रूपमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र आवतजावतमा लाग्ने खर्च बचत हुने बताए। नियमित सेवाले मातृ तथा शिशु मृत्युदर घटाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
प्रसूतिगृह अस्पतालले यसअघि पनि तारकेश्वरमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा सञ्चालन गरेको थियो। तर, केही समयदेखि उक्त सेवा रोकिएको थियो। नयाँ सम्झौतासँगै रोकिएको सेवा पुनः नियमित रूपमा सञ्चालनमा आउने भएको हो।



