

काठमाडौं – नेपालमा मानिसको ज्यान जोखिममा पार्न सक्ने जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण बढ्दै गएको छ। पुषयता देशभर ५८ जनामा संक्रमण पुष्टि भएकोमा १६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। संक्रमितमध्ये मृत्यु हुनेको अनुपात करिब २७ प्रतिशत रहेको छ।
जापानिज इन्सेफलाइटिस विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ। क्युलेक्स प्रजातिका संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोगले मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ। समयमै उपचार नपाए बिरामीको ज्यानसमेत जान सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।
बाल स्वास्थ्य तथा खोप सेवा शाखा, परिवार कल्याण महाशाखाका जेई जोखिम विज्ञ डा. अभियान गौतमका अनुसार कुखुरा, हाँस तथा सुँगुर पाल्ने र धान खेती हुने क्षेत्रमा जापानिज इन्सेफलाइटिसको जोखिम बढी हुन्छ।
उनका अनुसार जेईबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप हो। पछिल्लो समय संक्रमण पुष्टि भएका केही बिरामीले जेईविरुद्धको खोप नलगाएको पाइएको उनले बताए।
नियमित खोप तालिकाअनुसार बालबालिकालाई समयमै जेई खोप लगाउन डा. गौतमले आग्रह गरेका छन्। उनका अनुसार १२ महिनाको उमेरमा जेई खोप लगाइन्छ। उक्त उमेरमा खोप छुटेमा पाँच वर्षको उमेरसम्म लगाउन सकिन्छ। सरकारले जेईविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।
कसरी सर्छ जापानिज इन्सेफलाइटिस ?
जापानिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। धान खेत, पानी जम्ने स्थान तथा पशुपक्षी पालिने क्षेत्र लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले यस्ता क्षेत्रमा संक्रमणको जोखिम बढी हुन्छ।
संक्रमित लामखुट्टेले टोकेपछि जेई भाइरस शरीरमा प्रवेश गर्छ। धेरैजसो संक्रमितमा गम्भीर लक्षण नदेखिन पनि सक्छ। तर केही व्यक्तिमा भाइरसले मस्तिष्कमा असर पुर्याउँदा संक्रमण गम्भीर अवस्थामा पुग्न सक्छ।
बालबालिका तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्तिले विशेष सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ। यद्यपि जापानिज इन्सेफलाइटिस बालबालिकामा मात्रै हुने संक्रमण भने होइन।
कस्ता हुन्छन् लक्षण ?
जेई संक्रमणको सुरुआती अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुनेजस्ता लक्षण देखिन सक्छन्। संक्रमणले मस्तिष्कमा असर गर्न थालेपछि बिरामीको अवस्था गम्भीर बन्न सक्छ।
उच्च ज्वरो, अत्यधिक टाउको दुख्ने, पटक–पटक बान्ता हुने, बेहोस हुने, मुर्छा पर्ने, झट्का आउने तथा चेतनामा परिवर्तन हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ।
कम्युनिटी फिजिसियन डा. खिमा खत्रीका अनुसार उच्च ज्वरोसँगै बेहोस हुने वा मुर्छा पर्ने लक्षण देखिएमा घरमै उपचार गर्ने वा घरेलु तथा परम्परागत उपचारमा समय बिताउनु जोखिमपूर्ण हुन्छ।
उनले यस्ता लक्षण देखिएका बिरामीलाई उपचारमा ढिलाइ नगरी तत्काल अस्पताल लैजान आग्रह गरेकी छन्। अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था थप गम्भीर बन्न सक्ने उनको भनाइ छ।
कसरी जोगिने ?
जापानिज इन्सेफलाइटिसबाट जोगिन खोप लगाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्नु आवश्यक हुन्छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारले घर तथा वरपरको वातावरण सफा राख्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।
लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्ने, शरीर ढाकिने कपडा लगाउने, झ्याल–ढोकामा जाली राख्ने र घर वरपर पानी जम्न नदिने उपाय अपनाउन सकिन्छ। विशेषगरी बालबालिकालाई सुताउँदा झुलको प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले जोड दिएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार जेईबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय खोप नै हो। नियमित खोप तालिकाअनुसार १२ महिनाको उमेरमा जेई खोप लगाउनुपर्छ। कुनै कारणले खोप छुटेमा पाँच वर्षको उमेरसम्म लगाउन सकिन्छ।
सरकारले जेई खोप निःशुल्क उपलब्ध गराउँदै आएको अवस्थामा अभिभावकले बालबालिकाको खोप छुट्न नदिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।



