

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु न्यौपानेले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडि फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजनाप्रति आपत्ति जनाएकी छन्। उनले संवेदनशील स्वास्थ्य संस्थाको आसपास फोहोर प्रशोधन केन्द्र निर्माण गर्दा आमा र नवजात शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने प्रसूति गृहको पछाडि स्थानीयलाई पर्याप्त सूचना र जानकारी नदिई निर्माण कार्य अघि बढाइएको दाबी गरिन्। निर्माणका क्रममा बाटोसमेत ढाकिएको भन्दै उनले स्थानीय बासिन्दाको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन्।
प्रसूति गृहजस्तो संवेदनशील स्वास्थ्य संस्थाको आसपास फोहोर प्रशोधन केन्द्र निर्माण गर्नु उपयुक्त नहुने भन्दै उनले उक्त स्थानमा निर्माण कार्य रोक्न माग गरिन्।
बैठकमा सांसद न्यौपानेले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारण समस्यामा परेको विषयसमेत उठाइन्। नागरिकले सहज रूपमा स्वास्थ्य बीमा सुविधा पाउन नसकेको भन्दै उनले कार्यक्रमलाई तत्काल प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिन्।
उनले नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर ऋण लिएका नागरिकको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराइन्। गत भदौ २४ गते राष्ट्र बैंकबाट लुटिएको भनिएको सुनका पीडितले हालसम्म न सुन फिर्ता पाएको न त बजार मूल्यअनुसार क्षतिपूर्ति पाएको भन्दै उनले उनीहरूको समस्या तत्काल समाधान गर्न माग गरिन्।
सांसद न्यौपानेले पीडितको सम्पत्तिको संरक्षण गर्दै उनीहरूले पाउनुपर्ने सुन वा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।



