

अष्ट्रेलिया- अष्ट्रेलियामा तौल घटाउन प्रयोग हुने लोकप्रिय औषधिसँग सम्बन्धित भन्दै ६२ जनाको मृत्यु र २ हजार ८ सयभन्दा बढी प्रतिकूल असरका घटना रिपोर्ट भएका छन्। औषधि नियामक निकायमा ओजेम्पिक, वेगोभी र माउन्जारोजस्ता औषधिको प्रयोगपछि यी घटना देखिएको विवरण प्राप्त भएको हो।
रिपोर्टअनुसार यी औषधिसँग सम्भावित रूपमा सम्बन्धित २ हजार ८ सयभन्दा बढी प्रतिकूल प्रतिक्रिया दर्ता भएका छन्। यस्ता औषधिको प्रयोगपछि वाकवाकी, प्यान्क्रियाटाइटिस, आत्महत्यासम्बन्धी विचार तथा दुर्लभ अवस्थामा दृष्टि गुम्न सक्ने आँखासम्बन्धी समस्या देखिन सक्ने बताइएको छ।
यद्यपि चिकित्सकहरूले मृत्यु तथा अन्य स्वास्थ्य समस्याका सबै घटनाको कारण औषधि नै हो भनेर निष्कर्ष निकाल्न नहुने बताएका छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रस वाकरले कुनै औषधिको प्रयोग र मृत्युबीच सम्बन्ध देखिनु मात्रले उक्त औषधिले मृत्यु गराएको पुष्टि नहुने बताएका छन्।
उनका अनुसार मोटोपना र मधुमेहको संयोजन अर्थात् ‘डायाबेसिटी’ आफैंमा गम्भीर स्वास्थ्य जोखिम हो। केही बिरामीका लागि अत्यधिक तौल कायम रहनुको जोखिम औषधिको सम्भावित जोखिमभन्दा ठूलो हुन सक्ने चिकित्सकहरूको भनाइ छ।
तौल घटाउने यी औषधिले पछिल्ला वर्षहरूमा मोटोपना नियन्त्रणमा ठूलो परिवर्तन ल्याएका छन्। तर चिकित्सकहरूले दीर्घकालीन प्रभावबारे अझै अध्ययन आवश्यक रहेको र कुनै पनि उपचार पूर्ण रूपमा जोखिमरहित नहुने बताएका छन्।
स्वास्थ्य विशेषज्ञहरूले यस्ता औषधि प्रयोग गर्नुअघि चिकित्सकसँग परामर्श लिन र व्यक्तिगत स्वास्थ्य अवस्था तथा सम्भावित जोखिमका आधारमा उपचारको निर्णय गर्न सुझाव दिएका छन्।



