

बैतडी – मौसम परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आउने बिरामीमध्ये करिब ६० प्रतिशतमा भाइरल ज्वरो देखिएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक करिब २ सय बिरामी उपचारका लागि आउने गरेकामा १ सय २० जनाजति भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।
मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । केन्द्रका प्रमुख मुकेशकान्त दयालका अनुसार दैनिक उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशतमा भाइरल ज्वरो देखिने गरेको छ । गाउँघरका स्वास्थ्यचौकीमा समेत मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
भाइरल ज्वरोसँगै टाइफाइड, डेङ्गी र स्क्रबटाइफसका बिरामीसमेत फाटफुट रुपमा उपचारका लागि आउने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी पन्तले बताए । भाइरल ज्वरोका बिरामीमा उच्च ज्वरो आउने, चिसो महसुस हुने, हल्का खोकी लाग्ने, घाँटी दुख्ने, हाछ्युँ आउने, नाकबाट पानी बग्ने तथा टाउको, शरीर र हाडजोर्नी दुख्नेजस्ता लक्षण देखिने गरेका छन् ।
यसैबीच, सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि भाइरल ज्वरोको चपेटामा परेका छन् । शनिबार दार्चुला पुगेका मन्त्री लम्साल बैतडीको गोठालापानी पुगेपछि बिरामी परेका हुन् । उनको स्वास्थ्य परीक्षण गर्दा भाइरल ज्वरोसँगै रुघाखोकीको सामान्य समस्या देखिएको जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री लम्साल गोठालापानीमै आराम गरिरहेका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मन्त्री लम्साललाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडीतर्फ उडेको छ ।
मौसम परिवर्तनका कारण भाइरल ज्वरोको संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुले पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।



