

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा नयाँ परिवार आबद्ध हुने प्रक्रिया पूर्ण रूपमा अनलाइन बनाएको छ। नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमामा सहभागी हुन सेवाग्राहीले सरकारी कार्यालय धाएर लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ।
अब सेवाग्राहीले आफ्नै मोबाइल वा कम्प्युटरबाट स्वास्थ्य बीमा बोर्डको आधिकारिक वेब पोर्टलमा गएर नयाँ परिवार दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रियाका लागि आवश्यक विवरण तयार गरी अनलाइन आवेदन दिन सकिने बोर्डले जनाएको छ।
नयाँ दर्ता गर्न परिवारमूलीको नाम, मोबाइल नम्बर र इमेल राखेर प्रणालीमा खाता खोल्नुपर्नेछ। मोबाइलमा प्राप्त हुने ६ अङ्कको ओटिपी कोडमार्फत नम्बर प्रमाणीकरण गरेपछि पासवर्ड बनाएर युजर आइडी सुरक्षित गर्नुपर्ने व्यवस्था गरिएको छ।
लगइन गरेपछि ‘मेरो बीमालेख’ अन्तर्गत ‘नयाँ आबद्धता’ विकल्पमा गई विद्युतीय मन्जुरीनामा स्वीकार गर्नुपर्नेछ। त्यसपछि परिवारमूलीको राष्ट्रिय परिचयपत्र वा आवश्यक म्यानुअल विवरण भरेर परिवारका अन्य सदस्यको विवरण राख्न सकिनेछ।
बोर्डका अनुसार एक परिवारमा परिवारमूलीसहित बढीमा १० जनासम्मको विवरण अनलाइन प्रणालीमा राख्न सकिनेछ। सदस्यहरूको नाता खुल्ने कागजात तथा आवश्यक परेमा नाता प्रमाणित र बसाइँसराइसम्बन्धी कागजातसमेत प्रणालीमा अपलोड गर्नुपर्नेछ।
अनलाइन दर्ताका क्रममा सम्भव भएसम्म परिवारमूलीकै मोबाइल नम्बर प्रयोग गर्न बोर्डले अनुरोध गरेको छ। आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी, नवीकरण तथा स्वास्थ्य बीमासम्बन्धी अन्य सूचना सोही नम्बरमा एसएमएसमार्फत पठाइने भएकाले आधिकारिक मोबाइल नम्बर प्रयोग गर्नुपर्ने बोर्डले जनाएको छ।
लक्षित वर्गका नागरिकले पनि अनलाइन प्रक्रियामार्फत छुट सुविधा लिन सक्नेछन्। रातो कार्ड प्राप्त अति विपन्न परिवार, पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति, एचआईभी सङ्क्रमित, एमडीआर टीबीका बिरामी, कुष्ठरोगी, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयंसेविकाले छुट सुविधाका लागि सम्बन्धित आधिकारिक परिचयपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
फारम भरेपछि सेवाग्राहीले सम्पूर्ण विवरण पुनः रुजु गर्नुपर्नेछ। प्रणालीले स्वतः गणना गरेको बीमा शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ। भुक्तानी सफल भएपछि बीमालेख प्रमाणीकरणका लागि परिवारमूलीको स्थायी ठेगाना रहेको जिल्लाको स्वास्थ्य बीमा कार्यालयमा आवेदन स्वतः पठाइनेछ। लक्षित वर्गको हकमा भने विवरण रुजुका लागि स्वास्थ्य बीमा बोर्डमा पठाइनेछ।
सेवाग्राहीले आवेदन प्रक्रिया पूरा गरेपछि ‘बीमालेख एप डाउनलोड’ विकल्पमार्फत आफ्नो फारम सुरक्षित राख्न सक्नेछन्। आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी प्रणालीको बेल आइकनमार्फत हेर्न सकिनेछ भने बीमा कार्ड जारी भएपछि एसएमएसमार्फत जानकारी प्राप्त हुने बोर्डले जनाएको छ।
यस व्यवस्थाले स्वास्थ्य बीमामा नयाँ परिवार आबद्ध हुन लाग्ने समय तथा झन्झट घट्नुका साथै सेवाग्राहीलाई घरबाटै बीमा प्रक्रियामा सहभागी हुने सुविधा पुगेको बोर्डको विश्वास छ।




