

धनगढी- नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ।
शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले डायलासिस शय्या थप गर्दै सेवा विस्तार गर्ने निर्णय गरेको हो। निर्णयअनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, लम्कीचुहा प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर अस्पतालमा तीन डायलासिस शय्या थप गरिनेछ।
त्यस्तै जोगबुढा प्रादेशिक अस्पताल, बयलपाटा अस्पताललगायत अन्य जिल्ला अस्पतालमा पनि दुई–दुई डायलासिस शय्या थप गर्ने निर्णय सरकारले गरेको छ।
डायलासिसका लागि पर्याप्त शय्या नहुँदा मिर्गौलासम्बन्धी समस्या भएका बिरामीले उपचारका क्रममा कठिनाइ भोग्दै आएका छन्। बिरामीको यही समस्यालाई ध्यानमा राखेर प्रदेश सरकारले डायलासिस सेवा विस्तारलाई पहिलो निर्णयका रूपमा अघि बढाएको जनाएको छ।
नवगठित सरकारको निर्णयप्रति निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पनि खुसी व्यक्त गरेका छन्। डायलासिस शय्या थप गरी सेवा विस्तार गर्ने विषय शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेको थियो।
आफ्नो नेतृत्वको सरकारले अघि सारेको जनमुखी योजनालाई नयाँ सरकारले पहिलो निर्णयमार्फत कार्यान्वयनमा लैजान लागेको भन्दै शाहले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारलाई धन्यवाद दिएका छन्। उनले नयाँ सरकारलाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेको तत्कालीन सरकारको नीति तथा कार्यक्रमको ४८ नम्बर बुँदामा डायलासिस सेवा विस्तारका लागि शय्या थप गर्ने विषय समेटिएको थियो। त्यसका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको थियो। तर, प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसकेपछि योजना कार्यान्वयनमा जान सकेको थिएन।
नयाँ सरकारले भने डायलासिस सेवा विस्तारलाई पहिलो निर्णयकै रूपमा अघि बढाउँदै प्रदेशका विभिन्न अस्पतालमा थप शय्या व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाउने भएको छ।



