

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले परिषद्को सदस्य नियुक्तिसम्बन्धी विषयमा अध्यक्ष डा. कादिर आलमको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
परिषद्ले मंगलबार विज्ञप्ति जारी गर्दै सदस्य नियुक्तिसम्बन्धी विषयमा अध्यक्षलाई व्यक्तिगत रूपमा जोडेर भइरहेका आरोपप्रति ध्यानाकर्षण भएको जनाएको हो।
नेपाल फार्मेसी परिषद्को गठन तथा सदस्य मनोनयनसम्बन्धी व्यवस्था नेपाल फार्मेसी परिषद् ऐन, २०५७ को दफा ५ ले स्पष्ट रूपमा निर्धारण गरेको परिषद्ले जनाएको छ। उक्त कानुनी व्यवस्थाअनुसार परिषद्का विभिन्न पद तथा सदस्यको मनोनयन तोकिएको योग्यता, प्रतिनिधित्व र प्रक्रियाका आधारमा हुने व्यवस्था रहेको छ।
सदस्य मनोनयनको अधिकार ऐनले तोकेबमोजिम नेपाल सरकारमा निहित रहेको परिषद्ले स्पष्ट पारेको छ। त्यसैले परिषद्का अध्यक्ष वा कुनै एक पदाधिकारीलाई व्यक्तिगत रूपमा परिषद्का सदस्य नियुक्त गर्ने अधिकार रहेको बुझ्नु वा प्रस्तुत गर्नु कानुनी व्यवस्थासँग मेल नखाने परिषद्को भनाइ छ।
परिषद्ले अध्यक्षलाई व्यक्तिगत रूपमा केन्द्रमा राखेर सदस्य नियुक्तिको सम्पूर्ण प्रक्रियासँग जोडेर आरोप लगाउनुअघि सम्बन्धित कानुनी व्यवस्था, निर्णय प्रक्रिया तथा उपलब्ध तथ्य र प्रमाणको वस्तुनिष्ठ अध्ययन गर्न आग्रह गरेको छ।
सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउनु, पारदर्शिता खोज्नु र तथ्य सार्वजनिक गर्न माग गर्नु स्वाभाविक र आवश्यक विषय भएको परिषद्ले जनाएको छ। तर, पर्याप्त तथ्य र प्रमाणबिना कुनै व्यक्ति वा संस्थालाई लक्षित गरी आरोप–प्रत्यारोप गर्दा वास्तविक विषय स्पष्ट हुनुको सट्टा भ्रम, विवाद र अविश्वास सिर्जना हुन सक्ने परिषद्को भनाइ छ।
परिषद्ले सार्वजनिक अभिव्यक्ति दिँदा आरोप वा अनुमानभन्दा तथ्य, प्रमाण र प्रचलित कानुनी व्यवस्थालाई आधार बनाउन आग्रह गरेको छ। नियुक्ति प्रक्रियासम्बन्धी कुनै प्रश्न वा असहमति भए सम्बन्धित निर्णयकर्ता निकायसँग तथ्यगत विवरण माग गर्न पनि परिषद्ले आग्रह गरेको छ।
परिषद्ले नेपाल फार्मेसी परिषद्, अध्यक्ष वा कुनै पनि पदाधिकारीलाई प्रमाणविना व्यक्तिगत रूपमा दोषारोपण नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।




