

काठमाडौं । सोसाइटी अफ नेपालीज हेल्थकेयर प्रोफेसनल्स इन युरोप (एसएनएचपीई) र बीएम फाउन्डेसनबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सेप्टेम्बर ३० मा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा आयोजित कार्यक्रममा एसएनएचपीई र बीएम फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपत्रले स्वास्थ्य सेवा, व्यावसायिक विकास, ज्ञान आदानप्रदान तथा समुदाय केन्द्रित विभिन्न पहलमा सहकार्य गर्ने आधार तय गरेको जनाइएको छ। यस सहकार्यबाट दुवै संस्थाको ज्ञान, सीप र अनुभवलाई समुदायमा प्रभावकारी रूपमा उपयोग गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा एसएनएचपीईका को–चेयरपर्सन तथा अपरेटिभ डाइरेक्टर डा. सागर धिताल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा डा. विनयकुमार श्रेष्ठ र एसोसिएट प्रोफेसर डा. कौशल के. तिवारी (इटाली) भर्चुअल माध्यमबाट जुममार्फत सहभागी भएका थिए। त्यस्तै, नेपालमा एसएनएचपीईका फोकल पर्सन तथा होटल एसोसिएसन अफ नेपाल, बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल पनि कार्यक्रममा उपस्थित थिए।
कार्यक्रममा बीएम फाउन्डेसनले आफ्ना विभिन्न गतिविधि तथा पहलहरू प्रस्तुत गरेको थियो। फाउन्डेसनले समुदायको स्वास्थ्य, सामाजिक विकास तथा समाजसेवाका क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराएको थियो।
एसएनएचपीई र बीएम फाउन्डेसनबीचको सहकार्यले स्वास्थ्य क्षेत्रका पेशाकर्मीलाई जोड्ने, ज्ञान तथा अनुभव आदानप्रदान गर्ने, सहकार्यलाई थप मजबुत बनाउने तथा नेपाली समुदायमा दीर्घकालीन प्रभाव पार्ने पहल विकास गर्ने अवसर सिर्जना गर्ने जनाइएको छ।
बीएम फाउन्डेसनले एसएनएचपीई तथा युरोपमा रहेका नेपाली स्वास्थ्य क्षेत्रका पेशाकर्मीसँगको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने जनाएको छ।




