

काठमाडौं – स्वास्थ्य उपचारलाई थप व्यवस्थित, गुणस्तरीय र सर्वसुलभ बनाउने उद्देश्यले मानक उपचार प्रोटोकल (एसटीपी) लाई स्वास्थ्य बीमा कार्यक्रमसँग आबद्ध गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित छलफलमा आधारभूत स्वास्थ्य सेवादेखि विभिन्न रोगको उपचारसम्म एकरूपता कायम गर्न एसटीपीको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको बैठकमा सरकारी स्वास्थ्य संस्थामा कार्यरत विभिन्न १८ विधाका विशेषज्ञ चिकित्सक सहभागी थिए।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत क्युरेटिभ सेवा प्रभागका निर्देशक डा. पवनजंग रायमाझीसहित पेडियाट्रिक, न्युरोलोजी, कार्डियोलोजी, हेमोफिलिया, ओरल हेल्थ, ईएनटीलगायत क्षेत्रका विशेषज्ञले आ–आफ्नो उपचार प्रोटोकल कार्यान्वयनका क्रममा देखिएका समस्या र सुधारका उपायबारे सुझाव दिएका थिए।
विशेषज्ञहरूले विभिन्न विभाग तथा महाशाखाले छुट्टाछुट्टै उपचार प्रोटोकल बनाउँदा समन्वयको अभाव देखिएकाले त्यसलाई हटाएर एउटै मापदण्डअनुसार उपचार प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्।
डा. रायमाझीका अनुसार आवश्यकताका आधारमा हालसम्म १९ वटा उपचार प्रोटोकल तयार भइसकेका छन्। तीमध्ये केही स्वीकृत भएर कार्यान्वयनमा आइसकेका छन् भने केही स्वीकृतिको प्रक्रियामा छन्। कार्यान्वयनमा रहेका प्रोटोकललाई समेत समयअनुकूल परिमार्जन गर्दै उपचारमा एकरूपता कायम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
बैठकमा बिरामीको आवश्यकता नहेरी सीटी स्क्यान, एमआरआईलगायत महँगा स्वास्थ्य परीक्षण गराउने प्रवृत्तिले उपचार खर्चसँगै स्वास्थ्य बीमा कार्यक्रमको आर्थिक भारसमेत बढाइरहेको विषय उठाइएको थियो। त्यसैले आवश्यकताका आधारमा मात्रै परीक्षण गराउने स्पष्ट मापदण्डसहितको प्रोटोकल बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
उपचार प्रोटोकलको प्रभावकारी कार्यान्वयन र नियमित परिमार्जनले अनावश्यक परीक्षण तथा महँगा औषधिको प्रयोग घटाउने अपेक्षा गरिएको छ। यसबाट बिरामीको उपचार खर्च कम हुनुका साथै सरकारी स्वास्थ्य कोषको अनावश्यक खर्च नियन्त्रण र स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।



