

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले काठमाडौं महानगरपालिका–२६, ठमेलमा सञ्चालनमा रहेको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ तत्काल सिलबन्दी गरी बन्द गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको छ।
क्लिनिकविरुद्ध परेको उजुरीपछि गठित छानबिन टोलीको प्रतिवेदनका आधारमा काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको हो। काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नियमावली, २०२४ बमोजिम निर्णय गर्दै स्वीकृति नलिई सञ्चालन गरिएको क्लिनिकलाई बन्द गर्न सिफारिस गरेको जनाएको छ।
काउन्सिलले क्लिनिक सिलबन्दी गर्नुका साथै त्यहाँ रहेका डिजिटल तथा मेडिकल रेकर्डसमेत नियन्त्रणमा लिन सम्बन्धित निकायलाई सिफारिस गरेको छ।
छानबिनका क्रममा क्लिनिकमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका विषयमा समेत विभिन्न अनियमितता भेटिएको काउन्सिलले जनाएको छ। एक जना चिकित्सकले म्याद सकिएको लाइसेन्स प्रयोग गरी आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर उपचार गरेको पाइएपछि उनीसँग स्पष्टीकरण माग्दै कारबाही प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै, अर्का एक चिकित्सकले काउन्सिलमा दर्ता नभएको उपाधि प्रयोग गरी बिरामी तथा सर्वसाधारणमा भ्रम सिर्जना गरेको पाइएपछि उनीविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।
क्लिनिकमा संलग्न एक जना विदेशी चिकित्सकको शैक्षिक योग्यता तथा संलग्नतासम्बन्धी आधिकारिक अभिलेखबारे थप जाँच भइरहेको छ। अर्का एक चिकित्सकले पेस गरेको प्रशिक्षण प्रमाणपत्रको आधिकारिकतासमेत अध्ययन भइरहेको काउन्सिलले जनाएको छ।
त्यसैगरी, दर्ता तथा इजाजतपत्रबिना क्लिनिकमा कार्यरत स्वास्थ्य सहायकलगायत स्वास्थ्यकर्मीमाथि आवश्यक कारबाहीका लागि सम्बन्धित विषयगत परिषद्हरूमा सिफारिस गरिएको छ।
क्लिनिकभित्र गैरकानुनी रूपमा सञ्चालन गरिएको फार्मेसी तथा त्यहाँ प्रयोग हुने औषधिको स्रोतबारे समेत विस्तृत अनुसन्धान गर्न काउन्सिलले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको जनाएको छ। औषधिको स्रोत र फार्मेसी सञ्चालनसम्बन्धी विषयमा आवश्यक कारबाहीका लागि विभागलाई जिम्मेवारी दिइएको काउन्सिलले जनाएको छ।




