

जेनेभा – युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो विशेषज्ञता र अनुभव नेपालको स्वास्थ्य प्रणालीसँग जोड्न सकिने विषयमा छलफल गरेका छन्।
स्विट्जरल्यान्डको जेनेभामा साउन २२ देखि २४ गतेसम्म आयोजित ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’को दोस्रो वार्षिक सम्मेलनमा युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने विषयमा विभिन्न योजना र अवधारणामाथि छलफल भएको हो।
तीनदिने सम्मेलनमा स्वास्थ्य क्षेत्रमा विकसित नयाँ प्रविधि, क्लिनिकल अभ्यास, अनुसन्धान तथा समसामयिक चुनौतीबारे कार्यपत्र प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार चारवटा क्लिनिकल, वैज्ञानिक तथा प्रविधिमूलक कार्यपत्र र नेपालसँग सम्बन्धित तीनवटा रिपोर्ट प्रस्तुत गरिएका थिए।
सम्मेलनको उद्घाटन गर्दै स्विट्जरल्यान्डका लागि नेपाली राजदूत तथा जेनेभास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीले छोटो समयमै सोसाइटीले उल्लेखनीय काम गरेको भन्दै नेपाल र युरोपबीचको स्वास्थ्य सहकार्यलाई संरक्षण र निरन्तरता दिनुपर्नेमा जोड दिए।
‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर’ अवार्ड डा. थापालाई
सम्मेलनकै अवसरमा यस वर्षको ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर–२०२६’ अवार्ड प्राडा सुरजबहादुर थापालाई प्रदान गरिएको छ। राजदूत सुवेदी र सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठले संयुक्त रूपमा थापालाई अवार्ड हस्तान्तरण गरे।
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नेपाली स्वास्थ्यकर्मीलाई हरेक वर्ष सम्मान गर्ने योजनाअनुसार थापालाई अवार्ड प्रदान गरिएको सोसाइटीले जनाएको छ। गत वर्ष पहिलोपटक यो सम्मान प्राडा गणेश आचार्यलाई प्रदान गरिएको थियो।
त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस गरेका डा. थापाले नर्वेबाट मेन्टल हेल्थमा एमडी गरेका छन्। उनले सन् २००६ मा नर्वेकै विश्वविद्यालयबाट चिकित्सा शास्त्रमा पीएचडी र सन् २०१० मा मनोचिकित्सा विशेषज्ञता हासिल गरेका थिए। हाल उनी नर्वेको ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसर तथा मेन्टल हेल्थ डिभिजनका अनुसन्धान प्रमुखका रूपमा कार्यरत छन्।
अवार्ड ग्रहण गर्दै डा. थापाले आफू प्रचार वा चर्चाभन्दा आफ्नो काम र समर्पणलाई प्राथमिकता दिने व्यक्ति भए पनि आफ्नो योगदानको सम्मान भएकोमा खुसी लागेको बताए।
सम्मेलनमा स्विट्जरल्यान्डका डा. यु. मेइयर, बेलायतका प्रो. केनेथ वाकर, जर्मनीका डा. सुनिल हमाल, सरस्वती तामाङ, स्विट्जरल्यान्डकी प्राडा मोनिका ब्रोडमन, छाया नेपालका कमल थापा तथा डा. बुद्धिमान श्रेष्ठलगायतले विभिन्न स्वास्थ्य तथा वैज्ञानिक विषयमा प्रस्तुति दिएका थिए।
सात महादेशका सात सर्वोच्च शिखर आरोहण गरेकी सुस्मिता मास्के निरौलाले हिमाल आरोहणका क्रममा आफूले भोगेका अनुभव र चुनौतीबारे प्रेरणादायी प्रस्तुति दिएकी थिइन्।
सम्मेलनका क्रममा ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’ र बेलायतस्थित ‘नेप्लिज डक्टर्स एसोसिएसन’बीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ। सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ र एसोसिएसनकी अध्यक्ष डा. आरती थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
सोसाइटीका अध्यक्ष श्रेष्ठका अनुसार युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीलाई संगठित गर्दै नेपाली समुदायको स्वास्थ्यसम्बन्धी अनुसन्धान अघि बढाउने, नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने योजना अघि बढाइएको छ। यस्तै, युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीको व्यक्तिगत तथा व्यावसायिक विकासमा समेत सोसाइटीले काम गरिरहेको उनले बताए।
सम्मेलनकै क्रममा प्राडा कौशल किशोर तिवारीको सम्पादनमा प्रकाशित ‘मेडिकल जर्नल’को पहिलो अंकसमेत विमोचन गरिएको थियो।



